Euro 2020

स्टर्लिङ र केनको गोलमा ५५ वर्ष पछि इङ्ल्याण्डद्वारा जर्मनी ‘नकआउट’

Published

on

रहिम स्टेर्लिङ र ह्यारी केनको गोलको मद्धतमा इङ्ल्याण्डले जर्मनीलाई ५५ वर्ष पछि कुनै पनि प्रतियोगिताको ‘नकआउट’ चरणमा पराजित गरेको छ । १९६६ को विश्वकपमा पराजित गरे यता इङ्ल्याण्डले जर्मनीलाई कुनै ठुलो प्रतियोगिताबाट बहिर निकाल्न सकेको थिएन । इङ्ल्याण्ड यो जितका साथ युरो को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खेलको १६ औँ मिनेटमा इङ्ल्याण्डका लागि रहिम स्ट्रेर्लिङले गरेको प्रहारलाई जर्मनीका गोलरक्षक मानुएल नुएरले डाइभ गर्दै बचाएका थिए । त्यस पछि ३३ औँ मिनेटमा जर्मनीका लागि टिमो वर्नरले गरेको प्रहारलाई इङ्ल्याण्डका गोलरक्षक जोर्डन पिकफर्डले जोगाएका थिए । यस्तै इङ्ल्याण्डले पहिलो हाफको इन्जुरी समयमा अर्को मौका खेर खालेको थियो ।

रहिम स्टेर्लिङले ड्रिबल गर्दै लिएर गएको बल पेनाल्टी एरिया भित्र ह्यारी केनले पाए पनि उनले लिएको ‘हेभी टच’ कारण इङ्ल्याण्ड फेरी चुक्न पुगेको थियो ।

दोस्रो हाफमा जर्मनीले निकै राम्रा मुभहरु बनाएको थियो । ४९ औँ मिनेटमा रविन गोसेन्सले निकालेको क्रसमा काई ह्वाभर्ट्जले प्रहार गरेको भलीलाई पिकफर्डले बचाएका थिए । त्यस पछि खेलमा एकै पटक इङ्ल्याण्डले पहिलो गोल गरेका थिए । ७५ औँ मिनेटमा लुक स ले दिएको पासमा स्टेर्लिङले गोल गरेका थिए ।

८० औँ मिनेटमा जर्मनीले बराबरी गर्ने मौका गुमाएको थियो । ह्वाभर्ट्जले निकालेको बलमा जर्मनी थोमस मुलर ‘वान अन वान’ मा चुक्न पुगेका थिए । तर, इङ्ल्याण्डका लागि ८६ औँ मिनेटमा गोल गर्दै ह्यारी केनले २-० को अग्रता दिलाएका थिए । ज्याक ग्रिलिसले निकालेको क्रसमा केनले डाइभिङ हेडरमा गोल गरेका थिए ।

यससँगै तीन पटकको बिजेता जर्मनी युरो २०२० बाट बहिरिएको छ । इङ्ल्याण्डले अब स्विडेन र युक्रेनको बिजेतासँग क्वार्टरफाइनल खेल्ने छ ।

 

Click to comment

Trending