Euro 2020

‘म टिमलाई मद्दत गर्न चाहन्थे तर फेल भए, मलाई माफ गर्नुहोला’

Published

on

फ्रेञ्च स्टार स्ट्राइकर किलियन एमबाप्पेले स्विट्जरल्याण्डबिरुद्धको सनसनीपूर्ण युरो कप अन्तिम १६ को खेलमा निर्णायक पेनाल्टीमा गोल गर्न चुकेपछि सामाजिक सञ्जालमार्फत माफी मागेका छन् ।

उतार चढावपूर्ण खेलमा फ्रान्सले पहिलो पुनरागमन गर्दै पेनाल्टी बचाउनुका साथै ३(१ को अग्रताका साथ खेल आफ्नो पक्षमा पारिसकेको थियो । तर स्विट्जरल्याण्डले ९ मिनेटमा दुई गोल गर्दै खेललाई अतिरिक्त समय र टाइब्रेकरमा धकेलेको थियो ।

स्विट्जरल्याण्डको तेश्रो गोल ग्रानित जाकाको उत्कृष्ट असिस्टमा मारियो गाभ्रानोभिचले ९० औं मिनेटमा गरेका थिए । अतिरिक्त समयमा फ्रान्सले केही अवसरहरु गुमाएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

निकै प्रतिस्पर्धात्मक रहेको पेनाल्टी सुटआउटमा स्विट्जरल्याण्डका पांचै खेलाडीले गोल गर्दा फ्रान्सका लागि एमबाप्पेले पाचौं तथा निर्णायक प्रहार गर्न आएका थिए । तर फ्रान्सलाई २०१८ को बिश्वकप जिताउन प्रमुख भुमिका खेलेका एमबाप्पेको प्रहारलाई स्विस गोलकिपर यान सोमरले डाइभ गर्दै बचाएपछि डिडएर डेसच्याम्प्सको टोली स्तब्ध हुदै घर फर्किएको थियो ।

आफू चुकेपछि केही बेरसम्म निराश भएर उभिएका एमबाप्पेले खेलपछि ट्विटर र इन्स्टाग्राम मार्फत माफी मागेका छन् । निकै मार्मिक सन्देश दिएका एमबाप्पेलाई लिएर समर्थकहरुले पनि साथ दिएका छन् ।

“प्रतियोगिताबाट बाहिरिनु पर्दा निकै दुख लागेको छ । हामी आफ्नो लक्ष्य पुरा गर्न असफल भयौं । म यो पेनाल्टीको लागि माफी माग्न चाहन्छु । म टिमलाई मद्दत गर्न चाहन्थे तर म फेल भए । सुत्न अब सहज हुने छैन तर दुर्भाग्य खेलको यही उतार चढावलाई नै म निकै माया गर्छु,” एमबाप्पेले लेखेका छन् ।

“मलाई थाहा छ मैले तपाई समर्थकहरुलाई निराश बनाएको छु । तैपनि म तपाईहरुले दिदै आएको समर्थन र हामी प्रतिको बिश्वासका लागि धन्यवाद भन्न चाहन्छु । सबैभन्दा महत्वपूर्ण कुरा यसबाट आफूलाई सम्हाल्दै भविष्यमा अझै सशक्त भएर आउनु हो,” उनले भनेका छन् ।

Click to comment

Trending