Euro 2020

एकै खेलमा दुई कमब्याक, अन्तत: स्पेन क्वार्टरफाइनलमा

Published

on

एक्स्ट्रा टाइममा एल्भारो मोराटा र मिकेल ओयर्जबलले गोल गरे पछि स्पेनले क्रोएसियालाई ५-३ ले पराजित गरेको छ । ३-१ को अग्रता जोगाउन नसक्दा स्पेनले क्रोएसियासँग एक्स्ट्रा टाइम खेल्नु परेको थियो । खेलको ९० मिनेट सम्मको खेलमा पाब्लो सराबिया, सेजर एज्पिलिक्वेटा र फेरान टोरेसले स्पेनका लागि एक-एक गोल गर्दा क्रोएसियाका लागि स्पेनका पेद्री गोन्जालेजले ‘ओन गोल’ गर्दा अर्को गोल मिस्लाभ ओर्सीच र मारियो पासालिचले गरेका थिए ।

निर्धारित ९० मिनेटमा क्रोएसियाले ३-३ को कमब्याक गर्दा एक्स्ट्रा टाइममा स्पेनले ५-३ को कमब्याक जित निकालेको थियो ।

स्पेनले खेलमा धेरै पोजिसनमा आफ्नो पकड बनाएको थियो । तर, २० औँ मिनेटमा आफ्नै गल्तीले स्पेनले गोल खान पुगेको थियो । पेद्रीले दिएको पासलाई स्पेनका गोलरक्षक उनाइ सिमोनले नियाल्न नसक्दा गोल खान पुगेको थियो । पहिलो गोल गरे पछि क्रोएसियाले केही मौकाहरु पनि बनाएको थियो । २७ औँ मिनेटमा क्रोएसियाका लागि मटियो कोभाचिचले गरेको प्रहार बहिरिएको थियो ।

स्पेनले ३८ औँ मिनेटमा भने बराबरी गोल फर्काउन सफल भएका थियो । डिबक्स भित्र लुइस गयाको प्रहार बचाउ गरे पनि रिबाउन्डमा पाब्लो सराबियाले गोल गरेका थिए ।

दोस्रो हाफमा स्पेन अझै आक्रमक देखिएको थियो । स्पेनले लगतार बनाएको मुभ ५७ औँ मिनेटमा सफल बन्न पुगेको थियो । फेरान टोरेसले दिएको क्रसमा सेजर एज्पिलिक्वेटा हेडर गोल गरेका थिए । स्पेनले तेस्रो गोल ७६ औँ मिनेटमा गरेका थिए । पाउ टोरेजले दिएको लामो बलमा क्रोएसियाका डिफेन्डरको गल्तीको फाईदा उठाउँदै फेरान टोरेसले गोल गरेका थिए ।

तर, ८५ औँ मिनेटमा क्रोएसियाले दोस्रो गोल गर्‍यो । लुका मोड्रिचले मिलाएको पासमा मिस्लाभ ओर्सीचले गोल गरेका थिए । ९० मिनेट पछि थपिएको इन्जुरी समयमा क्रोएसियाले दमदार खेलेको थियो । इन्जुरी समयको दोस्रो मिनेटमा मै मारियो पासालिचले हेडर गोल गर्दै क्रोएसियाको क्वार्टरफाइनल सपनालाई जिवितै राखेका थिए ।

एक्स्ट्रा टाइमको दोस्रो मिनेटमै मिस्लाभ ओर्सीचले गरेको प्रहार पोस्ट नजिकैबाट बहिरिन पुग्दा क्रोएसियाले अग्रता लिना चुकेको थियो । यस्तै ९६ औँ मिनेटमा फेरी ओर्सीचले गरेको दुई प्रहारलाई स्पेनका उनाइ सिमोनले बचाएका थिए ।

स्पेनका लागि एक्स्ट्रा टाइमको १०० औँ मिनेटमा मोराटाले गोल गरेका थिए । ड्यानी ओल्मोले निकालेको क्रसलाई निकै सहज रुपमा उनले फिनिसिङ गरेका थिए । त्यस पछि १०३ मिनेटमा ओयर्जबलले गोल गर्दै स्पेनलाई ५-३ को अग्रता दिलाए । ओयर्जबलले ड्यानी ओल्मोले नै मिलाएको पासमा गोल गरेका थिए ।

जितसँगै स्पेन युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

 

Click to comment

Trending