अन्तर्राष्ट्रिय

कप्तानका रुपमा बवुमाको पहिलो जित 

Published

on

घरेलु टोली वेस्ट इन्डिजलाई दोश्रो ट्वान्टी ट्वान्टी खेलमा १६ रनले पराजित गर्दै टेम्बा बवुमाले दक्षिण अफ्रिकाका कप्तानका रुपमा पहिलो जित दर्ता गराएका छन् । त्यस्तै पहिलो खेलमा आठ विकेटको हारको सामना गरेको दक्षिण अफ्रिकाले शृंखला १-१ को अवस्थामा पुर्याएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले सात विकेटको नोक्सानीमा १६६ रन बनायो भने जबाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले पुरै २० ओभर खेल्दै नौ विकेटको नोक्सानीमा १५० रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाको तर्फबाट ३३ बलको सामना गरेका कप्तान बवुमाले सर्वाधिक ४६ रन बनाए भने ओपनरद्वय रेजा हेन्ड्रिक्सक्विन्टन डि ककले पनिं क्रमश ३० बलमा ४२ तथा २० बलमा २६ रनको पारी खेले ।

राम्रो सुरुवात गरेको दक्षिण अफ्रिकाले ठुलो स्कोर बनाउन भने सकेन । पहिलो विकेटका लागि डि कक र हेन्ड्रिक्सले ६ दशमलब पाँच ओभरमा ७३ रन जोड्दै आक्रामक सुरुवात दिए । एक छोडबाट कप्तान बवुमाले रन जोड्दै गए पनि अर्को छोडका ब्याट्सम्यानहरुले उनलाई राम्रो साथ दिन सकेनन् । 

दक्षिण अफ्रिकाका अन्य ब्याट्सम्यानहरुमा डेभिड मिलर ११, हेनरिक क्लासेन १०, रस्सी भान डर डस्सेन दुई, जर्ज लिन्ड़े तीन रनमा आउट भए भने कागिसो रबाडाले अविजित सात रनको पारी खेले ।

वेस्ट इन्डिजका ओबेड म्याककोयले सर्वाधिक तीन विकेट लिए भने केभिन सिनक्लेयरले दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

वेस्ट इन्डिजको तर्फबाट ओपनर आन्द्रे फ्लेचरले सर्वाधिक ३५ रन बनाए भने फबियन एलेनले आक्रामक पारी खेल्दै १२ बलमा ३४ रन बनाए । 

पहिलो खेलमा ३५ बलमा ७१ को पारी खेलेका एभिन लेविस र आन्द्रे फ्लेचरले तीन दशमलब दुई ओभरमा ३१ रन जोडे । लेविसको विकेटको पतन पछि आएका क्रिस गेल आठ, निकोलस पुरन नौ, कप्तान किएरोन पोलार्ड एक तथा आन्द्रे रसेल पाँच रन बनाएर पेभेलियन फर्किए ।

जेसन होल्डरले २० बलमा २० रन तथा नबौं नम्बरमा ब्याटिङ गर्न आएका एलेनले आक्रामक पारी खेल्दै १२ बलमा पाँच छक्काको मद्दतमा ३४ रन जोड्दै वेस्ट इन्डिजलाई जितको आशा देखाए पनि दुवैको विकेटको पतन सँगै हारको सामना गर्न पुग्यो । 

दक्षिण अफ्रिकाका कागिसो रबाडाले सर्वाधिक तीन तथा जर्ज लिंडेले दुई विकेट आफ्नो नाममा दर्ता गराए । 

 

 

Click to comment

Trending