Euro 2020

दुई सब्स्टिच्युटको गोलले भाग्यमानी इटाली युरो कपको क्वार्टर-फाइनलमा

Published

on

दुई सब्स्टिच्युट फेडेरिको चिएसा र म्याटियो पेस्सिनाले गोल गरेपछि भाग्यमनी इटाली अतिरिक्त समयमा अष्ट्रियालाई २-१ ले पराजित गर्दै युरो कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । लण्डनमा भएको अन्तिम १६ को खेलमा यसअघि प्रतियोगितामा झण्डै एकपक्षीय प्रदर्शन गरेकोइटालीलाई अष्ट्रियाले हावी हुन दिएको थिएन ।

प्रभावशाली प्रदर्शन गरेको अष्ट्रियाको गोलले मान्यता नपाएपछि उ अभागी साबित भएको थियो । तुलनात्मक रुपमा कमजोर प्रदर्शन गरेको इटालीका लागि त्यसपछि दोश्रो हाफको अन्त्यतिर मैदान प्रवेश गरेका चिएसा र पेस्सिनाले थप गरिएको ३० मिनेटको अतिरिक्त समयको पहिलो हाफमा गोल गरे।

८४ औं मिनेटमा डोमेनिको बेर्रार्डीको स्थानमा आएका चिएसाले लियोनार्दो स्पिनाज्जोलाको सुन्दर असिस्टलाई उत्कृष्ट ढंगले पहिले हेडमार्फत, त्यसपछि दायँं खुट्टाले नियन्त्रणमा लिदैबाया खुट्टाको सशक्त प्रहारमा गोल गरेका थिए ।

लोरेन्जो इन्सिग्नेको निश्चित गोल हुने जस्तो देखिएको फ्रि किकलाई अष्ट्रियन गोलकिपर ड्यानिएल ब्याकमनले डाइभिंग सेभ गरेपछि प्राप्त कर्नरमा पेस्सिनाले गोल गरे । ६ यार्ड बक्स बाहिरको घम्सा घम्सीमा पेस्सिनाले गोल गरेका थिए । अष्ट्रियाले अतिरिक्त समयमा दुई सुन्दर मौका गुमाएपनि खेल सक्किन पांच मिनेट बाकी हुदा सासा कालाजिचको लो हेडरमार्फत गोल फर्काउको थियो ।

इटालीले १२ औं अन्तर्राष्ट्रिय खेलमा आएर पहिलो गोल खाएको हो । यो जितसंगै इटालीले आफ्नो अपराजित श्रृंखलालाई ३१ औं अन्तर्राष्ट्रिय खेलसम्म लम्ब्याएको छ ।

अष्ट्रियाले पहिलो केही मिनेट इटालीको गतिलाई भेट्टाउन सकेपनि दवाब दिन सकेको थिएन । पहिलो मौकामा स्पिनाज्जोलाको पासमा निकोलो बरेलाको लो ड्राइभलाई अष्ट्रियन गोलकिपर ब्याकमनलेमुस्किलले बचाएका थिए ।

त्यसको केही मिनेटमै काउन्टर अट्याकमा आफुतिर आएको बलमा मार्को अर्नाउटोभिचले इटालियन गोलकिपर अघि बढेको स्थितिमा गरेको लामो प्रहार निकै माथिबाट गएको थियो ।

३२ औं मिनेटमा सिरो इम्मोबिलेले बक्स बाहिरको लामो प्रहारले अष्ट्रियन गोलकिपर ब्याकमनलाईझुक्काउन सकेपनि पोस्टमा लागेर बाहिरिएको थियो । दोश्रो हाफको शुरुवातमा अष्ट्रियाले पहिलो मौका पाएको थियो । बक्सको ठ्याक्कै बाहिर पाएको फ्रि किकमा डेभिड आलाबाको प्रहार इटालियन पोस्टको धेरैमाथिबाट गयो ।

अष्ट्रियाले दवाब बनाउदै गर्दा ६५ औं मिनेटमा इटालीले गोल खाएपनि भिडियो असिस्टेन्ट रेफ्रि (भार) ले बचाएको थियो । आलाबाको हेड पासमा मार्को अर्नाउतोभिचले गोल गरेपनि भारमा उनी अफ साइड देखिएका थिए ।

Click to comment

Trending