अन्तर्राष्ट्रिय

बटलरको अविजित अर्धशतकमा इंग्ल्यान्डको सहज जित 

Published

on

घरेलु टोली इंग्ल्यान्डले श्रीलंका विरुद्धको पहिलो ट्वान्टी ट्वान्टी खेलमा आठ विकेटको सहज जित हात पारेको छ । यससँगै घरेलु टोली इंग्ल्यान्डले तीन खेलको शृंखलामा १-० को अग्रता लिन सफल भएको छ । 

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १२९ रनको सामान्य योगफल तयार पार्यो भने जबाफी ब्याटिङ गरेको इंग्ल्यान्डले १७ बल अगावै दुई विकेट गुमाएर लक्ष्य पार गर्यो । 

इंग्ल्यान्डको जितमा अविजित रहेका जस बटलरले ५५ बलको सामना गर्दै आठ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ६८ रन बनाए भने जासन रोयले पनि २२ बलमा चार चौका र एक छक्का प्रहार गर्दै ३६ रनको योगदान दिए । इंग्ल्यान्डलाई आक्रामक सुरुवात दिएका रोय र बटलरले पहिलो विकेटको लागि नौ दशमलब एक ओभरमा ८० रनको साझेदारी गरे ।  

सुखद सुरुवात गर्न नसके पनि श्रीलंकाको लागि छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका दासुन शनाकाले ४४ बल खेल्दै तीन चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ५० रन बनाए । नबौं ओभरमा श्रीलंकाको चार विकेटको नोक्सानीमा ५२ रन रहेको अवस्थामा क्रिजमा आएका उनले पारीको अन्तिम बलमा आउट हुनु अघि अर्धशतकीय पारी खेल्दै सम्मानजनक स्कोर सम्म पुर्याएका थिए । 

शनाका बाहेक कप्तान कुसल परेराले २६ बलमा ३० तथा अर्का ओपनर दनुश्का गुनथिलकाले १९ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर अभिश्का फर्नान्डो शून्य, कुसल मेन्डिस नौ, धनन्जय डि सिल्भा तीन, वानिन्दु हसरंगा पाँच रन बनाएर पेभेलियन फर्किए भने इसुरु उडानाले अविजित ६ रनको पारी खेले ।        

इंग्ल्यान्डका आदिल रशिदले किफायती बलिङ गर्दै चार ओभरमा १७ रन खर्चिएर दुई विकेट लिए भने दुई विकेट नै हात पारेका साम कर्रनले तीन ओभरमा २५ रन खर्चिए । त्यस्तै मार्क उड, क्रिस जोर्डन र लियाम लिभिङस्टोनले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।  

Click to comment

Trending