अन्तर्राष्ट्रिय

भारतलाई सजिलै हराएर न्युजिल्यान्डले जित्यो वर्ल्ड टेस्ट च्याम्पियनसिप

Published

on

भारत माथि आठ विकेटको सहज जित हात पार्दै न्युजिल्यान्डले पहिलो पटक आयोजना भएको वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि हात पार्न सफल भएको छ । 

न्युजिल्यान्डले यस अघि सन् २००० मा केन्यामा आयोजना भएको आईसीसी नकआउट ट्रफी एकदिवसीय प्रतियोगितामा भारतलाई पराजित गर्दै उपाधि चुमेको थियो भने त्यसको २१ वर्ष पछि फाइनलमा भारतलाई नै पराजित गर्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि हात पार्न सफल भएको हो ।    

१३९ रनको सामान्य लक्ष्य पाएको न्युजिल्यान्डले ४५ दशमलब पाँच ओभर खेल्दै दुई विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।

न्युजिल्यान्डको जितमा दोश्रो पारीमा कप्तान केन विलियम र रस टेलरले अविजित रहँदै क्रमश ५२ र ४७ रन बनाए । ओपनरद्वय टम लाथम नौ तथा डेभन कन्वे १९ रनमा आउट भए पनि विलियमसन र टेलरले तेश्रो विकेटका लागि अविजित ९६ रनको साझेदारी गर्दै जित सुनिश्चित गराए ।    

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २१७ रन बनाउँदा आफ्ना सबै विकेट गुमायो । राम्रो सुरुवात गरे पनि ठुलो स्कोर बनाउन नसकेको न्युजिल्यान्डले आफ्नो पहिलो पारीमा २४९ रन जोड्यो र ३२ रन अग्रता लिन सफल भयो । त्यस्तै भारतलाई दोश्रो पारीमा १७० रनमा रोकेको न्युजिल्यान्डले १३९ रनको लक्ष्य पाएको हो ।    

भारतको लागि पहिलो पारीमा अजिंक्य रहानेले सर्वाधिक ४९ रन बनाएका थिए भने कप्तान बिराट कोहलीले ४४ तथा ओपनर रोहित शर्माले ३४ रनको पारी खेले ।

पहिलो पारीमा भारतलाई सस्तोमा समेट्ने क्रममा न्युजिल्यान्डका कायल जेमिसनले २२ ओभरमा ३१ रन खर्चिएर सर्वाधिक पाँच विकेट हात पारे भने निल वागनरट्रेन्ट बोल्टले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

ओपनरद्वय डेभन कन्वे र टम लाथमले क्रमश ५४ र ३० रन तथा कप्तान केन विलियमसनले ४९ रन जोड्दै न्युजिल्यान्डलाई राम्रो सुरुवात दिलाए पनि त्यस पछिका ब्याट्सम्यानहरुले उल्लेख्य योगदान दिन सकेनन् । न्युजिल्यान्डका बलरहरू टिम साउथीले ३० तथा कायल जेमिसनले २१ रन जोड्दा आफ्नो पहिलो पारीमा २४९ रन मात्र बनाउन सक्यो र ३२ रनको झिनो अग्रता कायम गर्यो ।   

पहिलो पारीको आधारमा ३२ रनको अग्रता लिएको न्युजिल्यान्डले भारतलाई उसको दोश्रो पारीमा १७० रनमा समेटे पछि १३८ रनको सामान्य लक्ष्य पाएको हो । 

भारतको तर्फबाट दोश्रो पारीमा विकेट किपर ब्याट्सम्यान रिशब पन्तले सर्वाधिक ४१ रन बनाए भने चेतेश्वर पुजाराअजिंक्य रहाने समान १५-१५, कप्तान बिराट कोहली १३, रविन्द्र जडेजा १६, रविचन्द्रन अश्विन सात, मोहम्मद शामी १३ तथा जस्प्रित बुम्रा शून्य रनमा आउट भए भने इशान्त शर्मा एक रनमा अविजित रहे ।  

भारतलाई सस्तोमै समेट्ने क्रममा टिम साउथीले सर्वाधिक चार विकेट लिए भने ट्रेन्ट बोल्ट र कायल जेमिसनले क्रमश तीन र दुई विकेट आफ्नो नाममा दर्ता गराए । 

 

 

Click to comment

Trending