अन्तर्राष्ट्रिय

वेस्ट इन्डिजको खराब ब्याटिङ, दक्षिण अफ्रिकालाई १४९ रनको अग्रता  

Published

on

बलरहरूले घातक गर्दा घरेलु टोली वेस्ट इन्डिज विरुद्धको दोश्रो तथा अन्तिम टेस्टको दोश्रो दिन दक्षिण अफ्रिकाले १४९ रनको अग्रता लिन सफल भएको छ ।  

दोश्रो दिनको खेल पाँच विकेटको नोक्सानीमा २१८ रनको अवस्थाबाट सुरु गरेको दक्षिण अफ्रिकाले ८० रन जोड्दा बाँकी पाँच बिकेट पनि गुमायो । जबाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले मात्र ५४ ओभर खेल्दै १४९ रन जोड्दा आफ्ना सबै विकेट गुमायो भने पहिलो पारीको आधारमा १४९ रनले नै पछि रहेको छ ।

वेस्ट इन्डिजको लागि जेर्मेन ब्ल्याकउडले सर्वाधिक ४९ तथा शे होपले ४३ रन जोडे भने अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् ।

वेस्ट इन्डिजलाई सस्तोमै रोक्ने क्रममा वियान मुलदारले सर्वाधिक तीन विकेट लिए भने कागिसो रबाडा, लुंगी एनगिदी र केशव महाराजले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।     

पहिलो दिनको खेलको समाप्तिमा ५९ रनमा अविजित रहेका विकेट किपर क्विन्टन डि कक मात्र चार रनले शतक बनाउन चुके । कायल मायर्सको बलमा आउट हुनु अघि उनले १६२ बलको सामना गर्दै आठ चौकाको मद्दतमा सर्वाधिक ९६ रन बनाए ।      

त्यस बाहेक कागिसो रबाडा २१ रनमा अविजित रहे भने केशव महाराजले पनि १२ रनको योगदान दिए । पहिलो दिन दक्षिण अफ्रिकाका कप्तान एल्गर ७७ रनमा पेभेलियन फर्किएका थिए ।

वेस्ट इन्डिजका किमा रोच र कायल मायर्सले समान ३-३ विकेट हात पारे भने शान्नोन गाब्रियलले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए ।

दुई टेस्टको शृंखलामा दक्षिण अफ्रिका १-० ले अघि रहेको छ । यस अघि भएको पहिलो टेस्टमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई एक पारी र ६३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।  

 

Click to comment

Trending