Euro 2020

युरो ‘सुपर स्याटरडे’ : पोर्चुगल र जर्मनी भिड्दै

Published

on

युरो कपको दोस्रो चरणको अन्तिम खेलहरुमा शनिबार तीन खेलहरु हुँदै छन् । पहिलो खेलमा फ्रान्सले हङ्गेरीको सामना गर्दै छ । दोस्रो खेलमा साविक बिजेता पोर्चुगल र जर्मनी खेल्दै छन् । तेस्रो खेलमा स्पेनले पोल्याण्ड विरुद्ध खेल्दै छ ।

हङ्गेरी भर्सेस फ्रान्स

युरो कपमा हङ्गेरी र फ्रान्स शनिबार पहिलो पटक भिड्दै छन् । आफ्नो पहिलो खेलमा पोर्चुगलसँग ३-० ले पराजित भए पनि हङ्गेरीले खेलमा धेरै दवाब बनाएको थियो । फ्रान्सले पनि आफ्नो पहिलो खेलमा जर्मनीलाई १-० ले पाखा लगाइसकेको छ । आज हुने यो खेल हङ्गेरीको पक्षमा जाने हो भने समुह ‘एफ’ अझै रोमान्चक हुने छ ।

३८ हजार दर्शक क्षमता भएको पुसकास रङ्गशालामा हुने खेलमा हङ्गेरीलाई घरेलु दर्शकको साथ हुने छ । पछिल्ला छ खेलहरु हेर्दा फ्रान्स अपराजित रहेको छ । हङ्गेरीको पनि अपराजित यात्राा गएको साता मात्रै पोर्चुगलले तोडेको थियो ।

फ्रान्सका लागि जर्मनी विरुद्ध नै खेलिएको शुरुवाती एघारले हङ्गेरी विरुद्ध खेल्ने सम्भावना बलियो छ । हङ्गेरीका लागि पनि पुरानै खेलको शुरुवाती एघार बलियो देखिन्छ ।

फ्रान्सका लागि किलियन एम्बाप्पे र करिम बेन्जेमाले जर्मनी विरुद्धको जस्तो मौकाहरु नगुमाउने हो भने हङ्गेरी विरुद्ध ठुलो जित निकाल्न सक्ने छ । हङ्गेरीका लागि फ्रान्स ठुलो प्रतिद्वन्दी भएपनि युरो कपमा सानो टोलीका खेलहरु राम्रो देखिन्छ । खेल नेपाली समय अनुसार ५:४५ बजे सुरु हुने छ ।

प्लेयर्स टु वाच

एडम सलाई, हङ्गेरी

पउल पोग्बा, फ्रान्स

पोर्चुगल भर्सेस जर्मनी

पोर्चुगल लगतार दोस्रो खेल जित्दै युरो कपको अन्तिम १६ मा प्रवेश गर्ने टोली बन्न चाहन्छ तर दोस्रो खेलमा उसले जर्मनी विरुद्ध खेल्दै छ । पहिलो खेलमा हङ्गेरीलाई पाखा लगाइसकेको पोर्चुगलले आफ्नो पहिलो खेलमा फ्रान्ससँग  १-० ले पराजित जर्मनी विरुद्ध खेल्दा दुवै टोलीलाई समुह ‘एफ’ रोमान्चक बनाउने अवसर छ ।

पछिल्ला छ खेलहरु हेर्दा जर्मनीको लय केही खस्किएको छ । दुई खेलमा पराजित रहेको जर्मनीका लागि उत्कृष्ट फर्म समात्न गार्हो छैन । पोर्चुगल पछिल्ला सात खेलमा अपराजित रहेको छ तर जर्मनीसँगको पछिल्ला चार खेलमा पोर्चुगलले एकमा पनि जित निकाल्न सकेको छैन । जर्मनीका लागि यो खेलको शुरुवाती एघारमा केही परिवर्तन आउने अपेक्षा राखिएको छ ।

पोर्चुगलका लागि हङ्गेरी विरुद्धकै शुरुवाती एघार यो खेलका लागि ठीक देखिन्छ । पोर्चुगलका लागि क्रिष्चियानो रोनाल्डोलाई जर्मनी विरुद्ध गोल गर्दै अर्को किर्तिमान रच्ने अवसर छ । पोर्चुगलका युवा खेलाडीहरु जर्मनी विरुद्ध बलियो देखिन्छन् ।

जर्मनीका लागि फिनिसिङमा समस्या नदेखिने हो भने पोर्चुगल विरुद्धको खेल केही सजिलो हुने छ । खेल नेपाली समय अनुसार ९:४५ मा सुरु हुने छ ।

प्लेयर्स टु वाच

डिएगो जोटा, पोर्चुगल

काइ ह्वाभर्ट्ज, जर्मनी

स्पेन भर्सेस पोल्याण्ड

आफ्नो पहिलो खेलमा स्विडेन विरुद्ध गोलरहित बराबरी खेलेको स्पेनलाई यो खेलमा दवाब छ । अन्तिम १६ मा पुग्न स्पेनका लागि यो खेल गर या मरको स्थितीमा रहेको छ । पोल्याण्डका लागि पनि पहिलो खेल सम्झनलयाक नरहे पछि स्पेन विरुद्ध खेल महत्वपूर्ण छ ।

दुवै टोलीको पछिल्ला फर्म हेर्दा खेल रोमान्चक हुने देखिन्छ । जित भन्दा धेरै बराबरी खेलेका यि दुवै टोलीका लागि समर्थकका अनुसार प्रशिक्षक समस्या हुन् । स्पेनका समर्थकहरुले लुइस इन्रीक्वेले रियल म्याड्रिडका खेलाडीलाई टोलीमा नराखेका कारण टोलीमा पूर्णता नआएको मान्छन् ।

पोल्याण्डका पोर्चुगिज प्रशिक्षक पाउलो सोसालाई पोलिस समर्थकहरुले राजिनामा दिनु पर्ने बताउँदै आएका छन् । पछिल्ला सात खेलहरु हेर्दा पोल्याण्डले एक खेलमा मात्र जित निकालेको छ ।

आफु भन्दा धेरै तलको टोली अल्बेनियासँग जित निकालेको पोल्याण्डले त्यस यता खास नतिजा आफ्नो पक्षमा पार्न सकेको छैन । स्पेनको पनि खेलमा गोल गर्ने बानी हराएको छ । अल्भारो मोराटाले अघिल्लो खेलमा निकै मौका खेर फ्यालेका थिए ।

आजको यो खेलमा पनि त्यस्तै मौका खेर गएको देखिन्छ भने स्पेनलाई अन्तिम १६ को यात्रा गार्हो हुने देखिन्छ । खेल नेपाली समय अनुसार १२:४५ बजे सुरु हुने छ ।

प्लेयर्स टु वाच

जेराड मोरेनो, स्पेन

याकुब मोडेर, पोल्याण्ड

 

 

Click to comment

Trending