अन्तर्राष्ट्रिय

खराब सुरुवात गरे पनि एल्गर र डि ककको अर्धशतकमा सम्हालियो दक्षिण अफ्रिका 

Published

on

दक्षिण अफ्रिकाले घरेलु टोली वेस्ट इन्डिज विरुद्धको दोश्रो तथा अन्तिम टेस्टमा खराब सुरुवात गरे पनि कप्तान डिन एल्गर र विकेट किपर ब्याट्सम्यान क्विन्टन डि ककको अर्धशतकको पहिलो दिन सम्हालिएको प्रदर्शन गरेको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पहिलो दिनको खेलको समाप्तिमा ८२ ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २१८ रन बनाएको छ ।

दक्षिण अफ्रिकाका कप्तान एल्गर २३७ बल खेल्दै सर्वाधिक ७७ रन बनाएर आउट भए भने १०३ बलको सामना गरेका डि कक ५९ रनमा अविजित रहेका छन् । 

ओपनर एडेन मार्क्रम शुन्य, कीगान पिटरसन सात तथा रसी भान डर डुस्सेन चार रनमा पेभेलियन फर्कँदा ३७ रनमा तीन विकेट गुमाएको दक्षिण अफ्रिकाको लागि एल्गर र कायल भेरेन्नेले चौथो विकेटका लागि ८७ रनको साझेदारी गर्दै पारी सम्हाले । ८९ बलमा २७ रन बनाएका भेरेन्नेको विकेटको पतन पछि एल्गर र डि ककले ७९ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकालाई २०० को स्कोर पार गराउन सफल भए ।

वेस्ट इन्डिजका शान्नोन गाब्रियलले सर्वाधिक दुई विकेट हात पारे भने किमा रोच, जेडेन सिआल्स र कायल मायर्सले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

दुई टेस्टको शृंखलामा दक्षिण अफ्रिका १-० ले अघि रहेको छ । यस अघि भएको पहिलो टेस्टमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई एक पारी र ६३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।  

 

Click to comment

Trending