Headline

जाओ क्यन्सेलो: शोकलाई शक्तिमा परिणत गरेका उदीयमान पोर्चुगिज स्टार

Published

on

’आमा तिमीलाई धन्यवाद छ मेरो बाटामा उज्यालो छरिदिएकोमा ।’

जाओ क्यन्सेलोले सन् २०१४ जनवरी २५ मा बेन्फिकाको पहिलो टोलीका लागि लिग कप अन्तर्गत गिल भिसेन्टबिरुद्ध डेब्यु गर्दाको खेलमा फुटबल प्रति उनको लगाव स्पष्ट झल्किरहेको थियो ।

तर त्यसको एक वर्ष अघि उनको जीवनमा ठूलो बज्रपात परेको थियो । उनका बाबु होजे त्यस समय स्विट्जरल्याण्डमा काम गर्दथे । उनका बाबु छुट्टीबाट फर्केर स्विजरल्याण्ड जाने बेलामा उनी आफ्नो आमा र भाईसँगै एयरपोर्ट गए ।

तर एयरपोर्टबाट फर्कने क्रममा यस्तो घटना घट्यो जसले गर्दा १८ वर्षीय जाओको जीवन नै परिवर्तन भयो । एयरपोर्टबाट फर्कने क्रममा उनीहरु चढेको कार दुर्घटना हुन पुग्यो ।

लिस्बनबाट केही टाढा र बेन्फिकाको अभ्यास स्थलबाट केही नजिक भएको उक्त दुर्घटनामा उनको आमा फिलोमेनाको मृत्यु हुन पुग्यो । उनी र उनका नौ वर्षीय भाइ पेद्रोलाई भने सामान्य चोटपटक मात्र लाग्यो । उनका भाइ अहिले भिटोरिया गुइमारेसको अण्डर १९ टोलीबाट खेलिरहेका छन् ।

कमजोर आर्थिक अवस्थाका कारण उनका बाबु पैसा कमाउन स्विट्जरल्याण्ड पुगेका थिए । जाओको आमाले आफ्नो छोराहरूलाई राम्रो भविष्य दिने सोचका साथ तीन ठाउमा काम गर्दथिइन् ।

क्यान्सेलो त्यस समय बेन्फिकाको पहिलो टोलीमा लगातार अभ्यास गर्दथे । उनको एउटै सपना थियो, एक दिन बेन्फिकाको लागि खेल्दै राम्रो आम्दानी गर्ने र आमा बुबालाई आर्थिक रुपमा बलियो छौं भन्दै आराम गर्न भन्ने ।

“अचानक मेरो जीवनको प्रकाश नै हरायो । बाच्नुको आधार पनि देख्न छाडे । मैले मेरी आमालाई निकै माया गर्थे । आमा तिमी जहां भए पनि म तिम्रो साथ छु । तिमीले हाम्रो ख्याल गर्नुको साथै रक्षा पनि गर्नेछौ । म भित्र भित्रै मरिसकेको छु । तर पनि म बलियो बन्छु र तिमीलाई म माथि गौरवान्वित बनाउने छु । तिमी नै मेरो जीवन र संसार हौ । तिमी बिना केही कुराको पनि अर्थ छैन । तिमी प्रति हार्दिक श्रद्धाञ्जली छ आमा,” आफ्नो आमाको निधन भएको केही दिन पछि सामाजिक सञ्जालमा भावुक क्यान्सेलोले लेखेका थिए ।

 

आमाको निधन पछि शोकमा परेका क्यानसेलो एक महिना घरमा नै बसे । उनलाई फुटबल प्रति लगाव हुन छाड्यो । उनले अभ्यास पनि गर्न छाडे । त्यती मात्र होइन आंखा अगाडी आमाले ज्यान गुमाएको देखेका जाओले फुटबल नै छाड्ने सम्म निर्णयमा पुगे ।

तर त्यो सबै परिणत भयो जब उनले आफुले फुटबल छाड्ने सोच बनाएको बारेमा बताए । बाबुका कारण उनी फुटबलमा पुन लाग्ने निर्णयमा पुगे । त्यस पछि उनको जीवनको एक मात्र लक्ष्य बन्यो फुटबलमा फर्कदै आफ्नो आमालाई शीर उचो पार्ने ।

चार महिना पछि राइट ब्याक क्यान्सेलोको दुई गोलको मद्दतमा बेन्फिकाले अण्डर १९ राष्ट्रिय प्रतियोगिताको उपाधि चुम्यो । त्यस लगत्तै उनले बेन्फिकाको पहिलो टोलीको लागि डेब्यु गर्ने मौका पाए । बेन्फिकाले प्रिमेरा लिगाको अन्तिम खेल खेल्दै थियो र उपाधि पनि जित्ने पक्का भइसकेको थियो ।

त्यसैले पनि प्रशिक्षक होर्गेजले फेरी पनि युवा क्यान्सेलोलाई मैदानमा उतार्ने निर्णय लिए ।

सबैलाई अचम्मित पार्दै, दुई खेल मात्र खेलेका क्यान्सेलोलाई भ्यालेन्सियाले त्यस पछिको सिजन १५ मिलियन युरो खर्चदै क्लब भित्र्यायो ।

तीन वर्ष स्पेनिस क्लबमा बिताएका उनले कुल १ सय खेल खेले । तीन वर्षको समयमा उनले आफ्नो खेलमा निकै निखार ल्याउन सफल पनि भए । निकै लगाव भएका क्यान्सेसेलोले साना साना गल्तीहरुलाई पनि सच्यांउदै लगे ।

सन् २०१७ को अप्रिल महिनामा जब उनले डिपोर्टिभो ला कोरुना विरुद्ध गोल गरे उनले समर्थकहरु अगाडी पुगेर चुप लाग्न भन्ने संकेत दिए । समर्थकहरुले उनको विरोध गर्न थाले।

“मानसिक रुपमा म निकै खराब अवस्थाबाट गुज्रिरहेको छु । त्यसैले पनि मैले त्यस किसिमको हर्कत गरे । त्यो समर्थकहरुको गल्ती थिएन । मेरो गोल गरे पछिको कार्यलाई सबैले गलत बुझे । त्यो उनीहरूको लागि थिएन । मैले मेरो जीवनमा के गुज्रिरहेको छ भन्ने वारेमा म बोल्न चाहँदिन भन्ने मात्र थियो,” खेल पछि प्रतिक्रिया दिंदै उनले भनेका थिए ।

अनादर गर्ने । यो नै जाओको सबैभन्दा अचम्मको विशेषता थियो । उनी बेन्फिकाको अण्डर १५ टोलीमा हुँदा आफ्नो प्रशिक्षकलाई डरलाग्दो ट्याकल हानेका थिए । कारण के भन्दा प्रशिक्षक ब्रुनो लागेले निर्णायक चरणका खेलहरुमा उनलाई पर्याप्त मौका दिएनन् । तर अहिले उनको बानीमा परिवर्तन आएको छ । आजकल उनी प्रशिक्षक रआफु बीच बाबु छोराको सम्बन्ध रहेको बताउंछन् ।

उनले सधैं आफ्नो मन देखि नै खेले । समयको परिवर्तनसंगै उनले नियन्त्रण गुमाउने बानीलाई कन्ट्रोल गर्दै आएका छन् । उनको प्यासनलाई समर्थकहरुले स्विकार्दै आएका छन् । सायद त्यसैले पनि होला केही नराम्रा घटनाहरु भएको भए पनि भ्यालेन्सियाको अन्तिम खेल पछि सबै समर्थकहरुले उठेर उनलाई ताली बजाउंदै विदाई गरेका थिए । समर्थकको माया देखेर जाओले आंसु थाम्न सकेनन् ।

“उनको मनोवृत्तिलाई प्रसंशा गर्न पर्दछ । उनलाई थाहा थियो कि उनी क्लब छाड्दै छन् । तर पनि उनी एक खेल भए पनि भ्यालेन्सियाको लागि खेल्न चाहन्थे । त्यसले पनि देखाउंछ कि उनी कस्ता खालका व्यक्ति हुन् भनेर । अहिले सम्म उनको जीवन त्यती सहज रहेको छैन,” भ्यालेन्सियाका तत्कालीन प्रशिक्षक मार्सेलिनो गार्सिया टोरल भन्छन् ।

क्यान्सेलोले लोनमा इटरनाजिओनलबाट पनि खेले भने युभेन्टस पुगे पछि क्रिष्चियानो रोनाल्डोसंग पनि खेल्ने अवसर पाए । पछिल्लो दुई वर्ष देखि उनी म्यानचेस्टर सिटीमा पेप ग्वार्डियोलासंग छन् ।

उनले सन् २०१६ को सेप्टेम्बरमा पोर्चुगलको लागि डेब्यु गरेका थिए । उनले जिब्रल्टार, एण्डोर्रा र फारो आइल्याण्ड्सविरूद्धको लगातार तीन खेल्दै उत्कृष्ट सुरुवात गरे पनि । सन् २०१८ मा रसियामा आयोजना भएको विश्वकपमा भने टोलीमा स्थान बनाउन सकेनन् ।

सन् २०१९ को नेसन्स लिग अन्तर्गत समुह चरणका सबै खेल खेलेका उनले घरेलु मैदानमा पोर्चुगलले उपाधि चुम्दा फाइनलमा पहिलो रोजाईमा पर्न असमर्थ रहे ।

तर अहिले समय परिवर्तन भएको छ । टोलीमा उनको स्थान उच्च रहेको छ भने टिममा महत्वपूर्ण सदस्यका रुपमा रहेका छन् ।

“मलाई थाहा छ मेरी आमा मेरो यस यात्राको लागि पक्कै खुशी छिन् । मसंग अहिले सबैकुरा छ तर पनि सधैं आमाको अभाव खड्किन्छ । मेरो परिवार छ, एउटी छोरी छे । यो सब देख्ने मेरो आमा हकदार थिइन् सायद सबैभन्दा धेरै । उनी मसंग नभए पनि मेरो प्रगतीमा गर्व गर्दै होलिन्,” हालै एक टेलिभिजन अन्तर्वार्तामा जाओले भएका थिए ।

उनी अझै मिहिनेत गर्दै अझै धेरै गर्न चाहन्छन् । आमाको सम्झनामा ।

Click to comment

Trending