अन्तर्राष्ट्रिय

म चाहन्छु नेमारले सर्वाधिक गोल गर्ने मेरो किर्तिमान भंग गरून्: पेले 

Published

on

ब्राजिलका लेजेण्ड पेलेले अहिलेका स्टार नेमारले आफ्नो नाममा रहेको सर्वाधिक गोलकर्ताको किर्तिमान भंग गरुन् भन्ने इच्छा रहेको बताएका छन् ।

ब्राजिलमा जारी कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न पेरु विरुद्धको खेलमा गोल गर्दै नेमारले आफ्नो गोल संख्या ६८ पुर्याएका छन् । ब्राजिलको लागि सर्वाधिक गोल गर्ने किर्तिमान भने पेलेको नाममा रहेको छ । पेलेले ब्राजिलको लागि ९२ खेल खेल्दै ७७ गोल गरेका थिए । नेमारले ब्राजिलको लागि कुल १०७ खेलेका छन् । 

ब्राजिलको जितमा नेमारको प्रदर्शन देखेर पेलेले पनि आफ्नो खुशी लुकाउन सकेनन् । उनले सामाजिक सञ्जालमा नेमारको बखान गर्दै फोटो पनि राखेका छन् । नेमारले मैदानमा जसरी खेल्छन् त्यो देख्दा नमुस्कुराई बस्न नसक्ने पनि बताएका छन् ।

पेलेले इन्स्टाग्राममा लेखेका छन्: “जब म नेमारलाई देख्छु उनी सधैँ मुस्कुराई रहेका हुन्छन् । उनलाई देख्दा म पनि नमुस्कुराई रहन सक्दिनँ । सायद यो सरुवा रोग जस्तै होला ।”

“अन्य ब्राजिलका मानिसहरू जस्तै म पनि उनको खेल हेर्न लालायित हुन्छु र खुशी पनि लाग्दछ उनले खेलेको देख्दा । उनी अब सेलेकाओको लागि धेरै गोल गर्ने किर्तिमानको अझै एक कदम नजिक पुगेका छन् ।”

“म चाहन्छु कि उनी मेरो किर्तिमान भंग गर्न सफल हुन् ।”   

पेरु विरुद्धको खेलमा गोल गरे पछि नेमारले आँखाबाट आँसु झारेका थिए । खेलपछि उनले आफ्नो प्रतिक्रिया दिँदै पछिल्लो एक वर्ष भन्दा बढी कोरोनाका कारण ब्राजिलले निकै दुख झेल्न परेको र आफ्ना देशवासीलाई फुटबलको माध्यमबाट खुशी बनाउन सकेकोमा आफू निकै गौरवान्वित रहेको बताए । 

“म पेलेको किर्तिमान नजिक पुगेको छु । पछिल्लो दुई वर्षमा मैले धेरै भोगेको छु । मेरो लागि गोल संख्या भन्दा पनि ब्राजिलको लागि खेल्नु सबैभन्दा ठुलो खुशी र सफलता हो,” नेमारले भने । 

Click to comment

Trending