राष्ट्रिय

विश्वकप लिग टु को लागि नेपाली टोलीले शुक्रबारबाट अभ्यास सुरु गर्ने  

Published

on

जुलाईको तेश्रो साताबाट स्पेनमा आयोजना हुने विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले यही शुक्रबारबाट बन्द प्रशिक्षण सुरु गर्ने भएको छ ।

यसका लागि श्रीलंकामा रहेका नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर हिजो सोमबार नेपाल आइसकेका छन् । उनी नेपाल आए पछि केहि दिन क्वारेन्टिनमा बिताउने भएका कारण नेपाली टोलीले शुक्रबारबाट मात्र आफ्नो अभ्यास सुरु गर्न लागेको हो ।

क्यानले सुरुवाती चरणमा २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउने छ । 

नेपाली टोलीले जुलाईको पहिलो साता सम्म टियु क्रिकेट मैदानमा नै अभ्यास गर्नेछ भने त्यस पछि तयारीका लागि विदेश जानेछ । अहिले सम्म अभ्यासका लागि कुन देश जाने भन्ने निर्णय नभए पनि युएई, ओमान अथवा नेदरल्यान्ड्स मध्ये कुनै एक देशमा नेपाली टोलीले अभ्यास गर्नेछ ।

त्यहाँका स्थानीय क्लबसँग मैत्रीपूर्ण खेलका लागि पनि नेपाल क्रिकेट संघ (क्यान) ले पहल गर्दैछ । जुन देशमा अभ्यास खेलको सम्भावना रहन्छ त्यही देशमा दुई हप्ता अभ्यास तथा अभ्यास खेल खेल्ने छ ।

सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकपको छनोटको आधार रहेको लिग टु मा नेपालले हाल सम्म आफ्नै घरेलु मैदानमा मात्र श्रृंखला खेलेको छ । अमेरिका र ओमान सम्मिलित श्रृंखलामा नेपालले चार खेल खेल्दै अमेरिकालाई दुबै खेलमा पराजित गरेको थियो भने ओमानसँगको दुबै खेलमा हारको सामना गरेको थियो ।

चार अंक सहित नेपाल सात टोली सम्मिलित प्रतियोगिताको छैठौं स्थानमा रहेको छ । 

Click to comment

Trending