Euro 2020

स्टर्लिंगको गोलमा इंग्ल्याण्डको बिजयी शुरुवात

Published

on

रहिम स्टर्लिंगले गरेको एक मात्र गोलको मद्दतमा इंग्ल्याण्डले युरो कपमा क्रोएशियालाई १-० ले हराउदै बिजयी शुरुवात गरेको छ ।

वेम्ब्ली स्टेडियममा घरेलु दर्शकको उपस्थितिमा इंग्ल्याण्डले खेलमा राम्रो नियन्त्रण जमाउदै जित आत्मसात गर्यो । तीन बर्षअघि रुसमा भएको बिश्वकपको फाइनलसम्म पुग्दा निकै आकर्षक प्रदर्शन गरेको क्रोएसियाको लागि युरोको सुरुवात निराशाजनक रह्यो । उसले निकै कम समय इंग्ल्याण्डलाई दवाबमा राख्न सकेको थियो ।

खेलको शुरुवातमा इंग्ल्याण्डले सुनौलो मौका गुमायो । फिल फोडेनले बक्स भित्रबाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो भने ह्यारी केनले रिबाउण्ड भेट्टाउन सकेनन् । त्यसपछि काल्भिन फिलिप्सको लो भलीलाई क्रोएसियन किपर डोमिनिक लिभाकोभिसले बचाएका थिए ।

दोश्रो हाफको शुरुवाती चरण केही निरस बन्दा स्टर्लिंगले इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा फिलिम्सले बक्समा दिएको पासलाई स्टर्लिंगले उत्कृष्ट ढंगले फिनिसिंग दिएका थिए ।

लगत्तै इंग्ल्याण्डले अर्को मौका गुमायो । स्टर्लिंगले बक्स बाहिरबाट मेसन माउन्टलाई बल दिए । माउन्टले गोललाइनको अगाडी केनलाई निकालेको पासमा इंग्ल्याण्ड कप्तानको प्रहार आकाशिएको थियो । लगातार दवाब बनाएको इंग्ल्याण्डका लागि माउन्टले ६७ औं मिनेटमा प्रहार गरेको फ्रि किक थोरैले मात्र माथिबाट गएको थियो ।

Click to comment

Trending