अन्तर्राष्ट्रिय

वेस्ट इन्डिजको लज्जास्पद हार 

Published

on

दोश्रो पारीमा तीब्र गतिका बलर कागिसो रबाडाले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट हात पारे पछि घरेलु टोली वेस्ट इन्डिजले दक्षिण अफ्रिकाका विरुद्धको पहिलो टेस्टमा एक पारी र ६३ रनको लज्जास्पद हारको सामना गरेको छ । यस सँगै दक्षिण अफ्रिकाले दुई टेस्टको शृंखलामा १-० को अग्रता लिएको छ । 

पहिलो पारीको आधारमा २२५ रनले पछि परेको वेस्ट इन्डिजले दोश्रो पारीमा मात्र ६४ ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र १६२ रन बनाउन सक्यो । तेश्रो दिनको खेल चार विकेटको नोक्सानीमा ८२ रनको स्थितिबाट सुरु गरेको वेस्ट इन्डिजले ८० रन जोड्दा बाँकी छ विकेट पनि गुमाउन पुग्यो ।  

वेस्ट इन्डिजको तर्फबाट दोश्रो पारीमा रोस्टन चेजले सर्वाधिक ६२ रन बनाए ।    

दक्षिण अफ्रिकालाई तीन दिन भित्र नै जित दिलाउने क्रममा रबाडाले घातक बलिङ गर्दै २० ओभरमा ३४ रन खर्चिएर पाँच विकेट हात पारे भने एनरिच नोर्किए र केशव महाराजले पनि आफ्नो नाममा क्रमश तीन र दुई बिकेट दर्ता गराउन सफल भए ।  

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले आफ्नो पहिलो पारीमा मात्र ९७ बनाउँदै समेटिन पुग्यो भने दक्षिण अफ्रिकाले आफ्नो पहिलो पारीमा ९६ दशमलब पाँच ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर ३२२ रन बनायो र २२५ रनको अग्रता लिन सफल भयो ।  

पहिलो पारीमा वेस्ट इन्डिजलाई सस्तै रोक्ने क्रममा लुंगी एनगिदीले सर्वाधिक पाँच विकेट तथा नोर्किएले चार विकेट हात पारेका थिए  । एनगिदीले १३ दशमलब पाँच ओभर बलिङ गर्दै मात्र १९ रन खर्चिए भने नोर्किएले ११ ओभरमा ३५ रन दिए । त्यस्तै कागिसो रबाडाले पनि आफ्नो नाममा एक विकेट दर्ता गराउन सफल भए ।     

दक्षिण अफ्रिकाको तर्फबाट अविजित रहेका विकेट किपर ब्याट्सम्यान क्विन्टन डि कक सर्वाधिक १४१ रन बनाए । १७० बलको सामना गर्दै उनले १२ चौका र सात छक्का प्रहार गरे ।  डि कक बाहेक दक्षिण अफ्रिकाको लागि एडेन मार्क्रमले ६० तथा रसी भान डर डसेनले ४६ रनको पारी खेले भने वियान मुल्दारले पनि २५ रनको योगदान दिए । 

वेस्ट इन्डिजका जेसन होल्डरले सर्वाधिक चार विकेट लिए भने जयडेन सिल्सले तीन तथा किमा रोचले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराउन सफल भए ।            

 

Click to comment

Trending