Euro 2020

बिश्वकपको असफलतालाई पछाडी छोड्ने प्रयासमा इटालीका इम्मोबिले

Published

on

इटाली युरो कप मार्फत बिश्व फुटबलको ठूलो स्टेजमा फर्कदा उसको टप स्ट्राइकर सिरो इम्मोबिले बिश्वकप छनोट हुन नसकेको असफलता पछाडी छोड्ने प्रयासमा हुनेछन् ।

बिश्वकप पछि सबैभन्दा बढी हेरिने फुटबल प्रतियोगिता युरो कप शुक्रबार शुरु हुदैछ र पहिलो खेलमा इटालीले टर्कीको सामना गरिरहेको छ ।

२०१८ को बिश्वकपमा छनोट हुनबाट चुकेको चार पटकको बिश्व बिजेता इटालीलाई रोबर्टो मान्चिनीले पुनरुत्थान गरेका हुन् । त्यसैले यस पटक इटालीलाई युरोको डार्क हर्सको रुपमा हेरिएको छ ।

तर इटालीमा एउटा समस्या छ ।

पोर्चुगलका क्रिष्चियानो रोनाल्डो र जाओ फेलिक्स, फ्रान्सका किलियन एमबाप्पे र करिम बेन्जेमा र इंग्ल्याण्डका ह्यारी केन र मार्कस रासफोर्डको जस्तो हाइ प्रोफाइल स्ट्राइकरहरुको जोडी इटालीसंग छैन ।

लाजियोसंग पछिल्लो पांच सिजनमा क्लब किर्तिमानी १ सय ५० गोल पुरा गरेपनि इम्मोबिलेले आफूमाथि लागेको चाहिएको समयमा गोल गर्न नसक्ने स्ट्राइकरको ट्याग हटाउन सकेका छैनन् ।

नोभेम्बर २०१७ मा स्विडेनबिरुद्धको बिश्वकप छनौटको महत्वपूर्ण प्लेअफमा गोल गर्न नसक्दा ३१ बर्षिय इम्मोबिलेको खुबै आलोचना भएको थियो ।

“मलाई त्यो समय खेल्न नै मन लाग्न छोडेको थियो । मलाई दुख व्यवस्थापन गर्न गाह्रो भइरहेको थियो भने मनमा अनेक नकारात्मक सोचहरुले घर बनाएर बसेको थियो,” स्विडेनसंग हार्दै बिश्वकपको दौडबाट बाहिरिदाको क्षण इम्मोबिलले सम्झिए ।

त्यसयता टिमको पुनसंरचनामा लागेका मान्चिनीले इटालीलाई २७ खेलको अपराजित यात्रामा सम्म डोर्याइसकेका छन् ।

३६ गोलपछि २०१९(२० को सिजन युरोपियन गोल्डेन सु (जुत्ता) पाएका इम्मोबिलेलेगत सिजन पनि लाजियो छैटौं स्थानमा इटालियन सिरी आ समाप्त गर्दा २० गोल गरेका थिए । जर्मन टोली बोरुसिया डर्टमण्ड र स्पेनिस क्लब सेभियाले अस्विकार गरेका इम्मोबिलेको लागि ठूलोमञ्चमा आफूलाई साबित गर्ने यो अन्तिम अवसर हुन सक्छ ।

“मेरो व्यक्तित्व निकै बलियो । म प्राविधिक रुपमा दक्ष खेलाडी होइन । तर टेक्निकको अभावलाई म शक्ति, साहस र चातुर्यताले पुरा गर्छु,” युरो कपका लागि निकै आत्मबिश्वासले भरिएका इम्मोबिलेले भने ।

२०१४ मा इटालीको लागि डेब्यु गरेयता इम्मोबिलेका लागि सफलता निकै सुस्त गतिमा मात्रै प्राप्त भएको छ । ४६ खेलमा मात्र १३ गोल गरेका उनले मान्चिनीको आगमनमा भने गति लिदै ६ गोल गरेका छन् । इटालीको अग्रपंक्तिमा टोरिनोका कप्तान आन्द्रे बेलोट्टीको पनि बिकल्प रहेको छ ।

बेलोट्टीले ३३ खेलमा १२ गोल गरेका छन् । तर २७ बर्षिय उनको अनुभव भने सिमित मात्रै छ । उनको एक मात्र उपाधि २०१४ मा पालेर्मोको लागि इटालियन सिरी बी रहेको छ ।

गत सिजन बेलोट्टीले टोरिनोका लागि १३ गोल गरेका थिए । उनको प्रदर्शनकै कारण १७ औं स्थानमा सक्काएको टोरिनोले रेलिगेसन जोगाएको थियो । यसबाहेक सासुलोका २१ बर्षिय फर्वार्ड जियाकोमो रास्पाडोरी अर्को बिकल्प हुन्। तर उनी पहिलो पटक राष्ट्रिय टोलीमा आएका छन् ।

किंग बुराक

टर्कीबिरुद्ध पछिल्लो १० खेलमै अपराजित रहे पनि स्टार फर्वार्ड बुराक यिल्माजबिरुद्ध इटाली डिफेन्डरहरुले धेरै नै काम गर्नु पर्ने देखिन्छ । इटालीले टर्कीबिरुद्ध सात जित हात पारकेो छ भने तीन खेल बराबरीमा टुंगिएको छ ।

तर यिल्माज फ्रेञ्च टोली लिललाई नेमार र एमबाप्पेकोपेरिस सेन्ट जर्माइनको उपस्थितिमा लिग वान जिताएर युरो कप खेल्न आएका छन् । उच्च लयमा रहेका उनले २८ खेलमा १६ गोल गरेका छन्।

२०२१ मा टर्कीका लागि चार खेलमा पांच गोल गरेका ३५ बर्षिय यिल्माज इटालीको लागि सबैभन्दा ठूलो खतरा हुन् । हाम्रो मुख्य लक्ष्य इटालीलाई रोक्नु हो, समुहमा वेल्स र स्विटजरल्याण्डको पनि सामना गर्न गइरहेका यिल्माजले भने ।

“हामी ठूलो टिमहरुबिरुद्ध राम्रो खेलिरहेका छौं । हामीले यो खेल जित्नु पर्छ । मैदानमा हामीलाई कसैको डर छैन । हामी सबैभन्दा राम्रो तरिकाले प्रतियोगिता शुरु गर्न चाहन्छौं र टर्कीलाई उसको हक अनुसारको स्थान दिन चाहन्छौं,” यिल्माजले थपे ।

कोरोना भाइरसका कारण एक बर्ष पछाडी धकेलिएको २४ टिम सम्मिलित युरो कप ११ शहरमा हुदैछ भने शुक्रबारको खेलको लागि स्टाडियो आलिम्पिकोमा १६ हजार दर्शक (२५ प्रतिशत) लाई प्रवेको अनुमति दिइएको छ ।

२०१६ को युरो कपमा जर्मनीसंग पेनाल्टीमा पराजित भएपछि क्वार्टरफाइनलबाट बाहिरिए यता इटाली पहिलो पटक ठूलो खेल खेल्दैछ ।

Click to comment

Trending