Headline

ह्वाटमोर अर्को साता आँउदै, नेपालको स्पेनका लागि विदेशमा लामो तैयारी

Published

on

अर्को महिना स्पेनमा हुने विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को हप्ताबाट बन्द प्रशिक्षण सुरु गर्ने भएको छ ।

यसका लागि हाल श्रीलंकामा रहेका नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर आगामी मंगलबार सम्ममा नेपाल आइपुग्ने भएका छन् । उनी नेपाल आए पछि केही दिन क्वारेन्टिनमा बिताउने छन् भने त्यस लगत्तै नेपाली टोलीले आफ्नो अभ्यास सुरु गर्नेछ ।

क्यान श्रोतले विस्पोर्टजलाई जनाए अनुसार सुरुवाती चरणमा २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइने छ । त्यस्तै लिग टुका लागि १५ जना भन्दा बढी खेलाडीलाई स्पेन लगिने पनि श्रोतले बतायो ।

नेपाली टोलीले जुलाईको पहिलो साता सम्म टियु क्रिकेट मैदानमा नै अभ्यास गर्नेछ भने त्यस पछि तयारीका लागि विदेश जानेछ । अहिले सम्म अभ्यासका लागि कुन देश जाने भन्ने निर्णय नभए पनि युएई, ओमान अथवा नेदरल्यान्ड्स मध्ये कुनै एक देशमा नेपाली टोलीले अभ्यास गर्नेछ ।

त्यहाँका स्थानीय क्लबसँग मैत्रीपूर्ण खेलका लागि पनि नेपाल क्रिकेट संघ (क्यान) ले पहल गर्दैछ । जुन देशमा अभ्यास खेलको सम्भावना रहन्छ त्यही देशमा दुई हप्ता अभ्यास तथा अभ्यास खेल खेल्ने छ ।

सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकपको छनोटको आधार रहेको लिग टु मा नेपालले हाल सम्म आफ्नै घरेलु मैदानमा मात्र श्रृंखला खेलेको छ । अमेरिका र ओमान सम्मिलित श्रृंखलामा नेपालले चार खेल खेल्दै अमेरिकालाई दुबै खेलमा पराजित गरेको थियो भने ओमानसँगको दुबै खेलमा हारको सामना गरेको थियो ।

चार अंक सहित नेपाल सात टोली सम्मिलित प्रतियोगिताको छैठौं स्थानमा रहेको छ ।                

Click to comment

Trending