लेख

पोर्चुगलको फराकिलो जितमा फर्नान्डेस नायक

Published

on

ब्रुनो फर्नान्डेस र क्रिष्चियनो रोनाल्डो चम्किएपछि पोर्चुगलले युरो कप अघिको अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा इजरायललाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

खेलको हिरो भने म्यानचेस्टर युनाइटेड स्टार फर्नान्डेस रहे । उनले दुई गोल गर्नुका साथै रोनाल्डोको गोलमा असिस्ट गरेका थिए । ४२ औं मिनेटमा फर्नान्डेसले युरो कपको साबिक बिजेतालाई खेलमा अग्रता दिलाएका थिए ।

दुई मिनेटपछि नै रोनाल्डोको गोलमा असिस्ट गर्दा पोर्चुगल पहिलो हाफमा २-० ले अघि रहेको थियो । रोनाल्डोको यो पोर्चुगलका लागि १ सय ७५ औं खेलमा १ सय ४ औं अन्तर्राष्ट्रिय गोल थियो ।

“हामी स्पेनसंगको खेलपछि सबै कुरा सही ठांउमा राख्दै आइरहेका छौं,” स्पेनसंगको गोलरहित बराबरीको कुरा गर्दै पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले भने ।

जाओ क्यान्सिलोले ७६ औं मिनेटमा तेश्रो गोल गरे भने फर्नान्डेसले इन्जुरी समयको पहिलो मिनेटमा चौथो तथा अन्तिम गोल गरे ।

पोर्चुगलले युरो कप अन्तर्गत आफ्नो पहिलो खेलमा मंगलवार हंगेरीको सामना गर्नेछ । ग्रुप अफ डेथ मानिएको समुह एफमा पोर्चुगल, हंगेरी, २०१४ को बिश्वकप बिजेता जर्मनी र २०१८ को बिश्व बिजेता फ्रान्स रहेका छन् ।

Click to comment

Trending