लेख

केन विलियमसनले इंग्ल्यान्ड विरुद्धको दोश्रो टेस्ट गुमाउने 

Published

on

न्युजिल्यान्डका कप्तान केन विलियमसनले इंग्ल्यान्ड विरुद्धको दोश्रो तथा अन्तिम टेस्ट गुमाउने भएका छन् । पहिलो टेस्टका क्रममा विलियमसनलाई कुहिनोको चोटले पिरोलेको थियो ।

यो चोट उनको अहिले लागेको चोट भने हैन । यस अघि पनि उनलाई बारम्बार यस चोटले दुख दिंदै आएको छ । कुहिनोको चोटका कारण विलियमसनले यस वर्षको सुरुवातमा भएको बंगलादेश विरुद्धको एकदिवसीय खेल गुमाएका थिए भने इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि सुरुवाती खेलमा हैदराबादको टोलीबाट बाहिर रहेका थिए ।

विलियमसनको अनुपस्थितिमा उपकप्तान टम लाथमले न्युजिल्यान्डको कप्तानी गर्नेछन् । यस अघि पनि लाथमले गत वर्षको जनवरीमा अष्ट्रेलिया र डिसेम्बरमा वेस्ट इन्डिज विरुद्ध कप्तानी गरेका थिए ।   

‘केनले टेस्ट गुमाउने भनेको पक्कै पनि सहज निर्णय थिएन,’ न्युजिल्यान्डका मुख्य प्रशिक्षक ग्यारी स्टेडले भने । ‘हामीले उनको दुखाइ कम गर्नका लागि सुई लगाएका छौं । उनलाई ब्याटिङ गर्दा धेरै पीडा हुने गरेको छ । आराम गर्दा उनको दुख निको हुनेछ ।’  

न्युजिल्यान्डले जुन १८ मा भारत विरुद्धको वर्ल्ड टेस्ट च्याम्पियनसिपलाई पनि हेर्दै विलियमसनलाई विश्राम दिन लागेको हो । ‘पक्कै पनि हामीले टेस्ट च्याम्पियनसिपलाई मध्यनजर गर्नै पर्दछ । विलियमसनलाई अहिले खेलाएर जोखिम मोल्न हुँदैन । हामी उनी फाइनलका लागि तयार हुनेछन् भन्नेमा ढुक्क छौं ।’  

घरेलु टोली इंग्ल्यान्ड र न्युजिल्यान्ड बीचको दोश्रो तथा अन्तिम टेस्ट भोलि बिहिबारबाट सुरु हुँदैछ । पहिलो टेस्ट बराबरीमा सकिएका कारण दोश्रो टेस्ट जित्ने टोलीले शृंखला माथि कब्जा जमाउने छ ।  


 

Click to comment

Trending