Headline

अब्दुल्लाह भन्छन्ः म हार्ने हो भने सम्मानका साथ हार्छु

Published

on

बिश्वकप र एसिया कपको संयुक्त छनोटमा जोर्डनसंग एकपटक फेरि ३-० ले पराजित भएपछि नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफू हार्ने हो भने सम्मानका साथ हार्ने बताएका छन् ।

पहिलो लेगमा पनि त्यही गोल अन्तरले पराजित भएको नेपाल वाहा फैजल सैफले दुई गोल गरेपछि फराकिलो अन्तरले हार्न पुगेको थियो । पहिलो ३५ मिनेट पूर्ण रुपमा दवाबमा खेलेको नेपालले त्यसपछि मात्र कुनै कुनै समय बललाई नियन्त्रणमा राख्न सफल भएको थियो ।

चाइनिज ताइपेइलाई हराएको नेपाल जोर्डनसंग भने शारिरिक रुपमा नै नीरिह देखिएको थियो । जोर्डनले अन्तिम सम्म पनि खेलमा राम्रोपकड जमाएको थियो ।

“म मेरो खेलाडीहरुलाई बक्स भित्रै सिमित भएर राख्न चाहन्न । हार्ने नै हो भने म सम्मानका साथ हार्छु,” अब्दुल्लाहले खेलपछि भने । “हामीले आज धेरै नै प्रयास गरेका थियौं । एउटा कुरा स्पष्ट के हो भने म खेलाडीहरुलाई बक्सभित्रै बसेर गोल आयो भने रोक्ने निर्देशन कहिल्यै पनि दिन्न । हामीले सन्तुलित फुटबल खेलेका थियौं।”

“हामीले खेलमा एक मात्र गल्ति गर्यो । पेनाल्टी दिदा जोर्डनलाई केही सहज भयो । पेनाल्टी नभएको भए शायद खेल अर्कै हुने थियो । हामी अष्ट्रलियासंग पनि यसरी नै खेल्नेछौं । केटाहरु बल्ल ‘रियल’ फुटबल खेल्न थालेका छन् र हामीलाई आकार लिन अझै समय लाग्छ,” उनले भने ।

नेपालले जुन ११ मा जबर अल अहमद रंगशालामै अष्ट्रेलियाबिरुद्ध खेल्नेछ । बिश्वकपको आशा समाप्त भइसकेको नेपाललाई एसिया कप छनोटको तेश्रो चरणमा पनि उत्कृष्ट चौथो स्थानमा रहेको टोलीको रुपमा जान गाह्रो हुने देखिएको छ ।

नेपालको लागि अबको आशा प्लेअफ मार्फत एसिया कपको छनोटमा कायमै रहने रहेको छ ।

Click to comment

Trending