अन्तर्राष्ट्रिय

सम्झौता बिना नै श्रीलंका टोलीले इंग्ल्यान्डको भ्रमण गर्ने 

Published

on

खेलाडीहरू र श्रीलंका क्रिकेट बोर्डको नयाँ सेन्ट्रल कन्ट्रयाक्ट (सम्झौता) लाई लिएर द्वन्द चर्कंदा इंग्ल्यान्ड भ्रमण नै शंका को घेरामा परेको थियो । तर हालको लागि भने त्यो टरेको छ । श्रीलंका क्रिकेट बोर्डसँग पूर्ण रुपमा कुरा नमिलेको भए पनि उनीहरूले इंग्ल्यान्ड भ्रमण गर्ने भएका छन् ।   

श्रीलंकाले समान ३-३ ट्वान्टी ट्वान्टी र एकदिवसीय खेलका लागि यही जुन नौ तारिकमा इंग्ल्यान्ड जाने कार्यक्रम रहेको छ । बोर्डले खेलाडीहरूलाई सम्झौता गर्नका लागि तोकेको भए पनि ३८ जना खेलाडीहरूले बोर्डसँग सम्झौता नगर्ने र आफ्नो माग पुरा गर्नका लागि तीन दिनको समय दिएका थिए । त्यस्तै उनीहरूले आफ्नो माग पुरा नभएको खण्डमा इंग्ल्यान्ड भ्रमण नगर्ने चेतावनी पनि बोर्डलाई दिएका थिए ।

खेलाडीहरूले बोर्डलाई दिएको मिति भोलि सकिदै छ भने उनीहरु भोलि साँझ नै इंग्ल्यान्डको लागि उड्ने छन् । तर इंग्ल्यान्ड उड्नु एक दिन अघि मात्र आएर खेलाडीहरू सम्झौता नगरे पनि इंग्ल्यान्ड भ्रमणलाई असर नपार्ने भन्दै भ्रमण गर्नका लागि तयार भएका हुन् । 

त्यस्तै बोर्डले पनि जुन जुन कुरालाई लिएर खेलाडीहरूले असन्तुष्टि जनाएका छन् त्यस विषयका बारेमा इंग्ल्यान्ड भ्रमण पछि पुरा गर्ने बाचा पनि गरेका छन् ।

बङ्गलादेशविरुद्धको शृंखला शुरु हुनु एक दिन अघि प्रस्तावित सम्झौता अपारदर्शी र निष्पक्ष नरहेको भन्दै श्रीलंकन खेलाडीहरूले नयाँ सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । श्रीलंका क्रिकेटले राष्ट्रिय टोली ढाका उड्नु अघि २४ खेलाडीहरूलाई प्रस्ताव गरेको सेन्ट्रल कन्ट्रयाक्टमा थोरै तलब र प्रदर्शनको आधारमा प्रोत्साहन रकम उपलब्ध गराउने सम्झौता तयार पारेको थियो ।

खेलाडीहरूले अपारदर्शी सम्झौतामा हस्ताक्षर नगर्ने र श्रीलंका क्रिकेटलाई पनि खेलाडीहरूलाई बन्दुक देखाएर बन्दी नबनाउन पनि आग्रह गरेको थिए ।

खेलाडीहरूले प्रस्तावित तलब विवरण पनि सार्वजनिक गरेको श्रीलंका क्रिकेटको निर्णयले आफूहरू स्तब्ध भएको बताएका थिए । उनीहरूको अनुसार श्रीलंकन खेलाडीहरूलाई प्रस्ताव गरिएको तलब अन्य देशका खेलाडीहरूको तुलनामा मुस्किलले एक तिहाइ मात्रै रहेको भन्दै विरोध गरेका हुन् । बोर्डले भने खेलाडीहरूलाई सम्झौता रकम कम भए पनि खेल प्रदर्शनका आधारमा दिने भत्तामा पहिले भन्दा बढोत्तरी गरेको जनाएको छ । 

Click to comment

Trending