Headline

नेपाल फेरि पनि जोर्डनसंग ३-० ले पराजित

Published

on

वाहा फैजल सैफले दुई गोल गरेपछि नेपाल २०२२ बिश्वकप र २०२३ एसिया कप छनोट अन्तर्गत जोर्डनबिरुद्धको खेलमा ३-० को फराकिलो अन्तरले पराजित भएको छ ।

जोर्डनसंगको पहिलो लेगमा पनि नेपाल ३-० ले पराजित भएको थियो । हारपछि नेपाली टोलीको एसिया कप छनोटको तेश्रो चरणको बाटो अझै कठिन बनेको छ । नेपाललाई तेश्रो चरणमा प्रवेश गर्न अब प्लेअफकै सहारा रहनेछ ।

जबार अल अहमद रंगशालामा जोर्डनले २४ औं मिनेटमा पेनाल्टी मार्फत अग्रता लिएको थियो । २३ औं मिनेटमा रोहित चन्दले मौसा सुलेमानलाई पेनाल्टी बक्स भित्र लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो ।नेपाल नम्बर वान गोलकिपर किरण चेम्जोङले सही दिशामै डाइभ गरेपनि बाहाले सशक्त प्रहार गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए ।

बाहाले दोश्रो हाफ शुरु भएको केही मिनेटमै जोर्डनको अग्रतालाई दोब्बर पारेका थिए । वाहाले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको फ्रि किकलाई दर्शनीय गोलमा परिणत गरेका थिए । किरणले डाइभ दिदै बचाउने प्रयास गरेपनि असफल भएका थिए ।

६६ औं मिनेटमा जोर्डनले तेश्रो गोल गर्यो । यजान अल अरबले यजान अल इमादको क्रसमा हेडर मार्फत बललाई बाउन्स गराउदै गोल गरेका थिए । जोर्डनले पहिलो हाफलाई पूर्ण रुपले नियन्त्रणमा लिएपनि किरणले लगातार नेपाललाई गोल खानबाट बचाएका थिए ।

१५ औं मिनेटमा मौसाको लामो प्रहारलाई किरणले उत्कृष्ट ढंगले बचाउदै कर्नरको लागि पठाएका थिए । ३६ औं मिनेटमा नेपाल पहिलो पटक जोर्डनको बक्स नजिक पुगेको थियो । सुनिल बलले मिडफिल्डबाट आएको बल अन्जन बिष्टलाई पास नगर्दै फितलो प्रयास गर्दै बाहिर प्रहार गरेका थिए ।

अध्याधिक समय डिफेन्समै व्यस्त रहेको नेपालले बिरलै बलमा लामो समय नियन्त्रणमा लिन सकेको थियो । अन्जन बिष्टले ८६ औं मिनेटमा बक्सभित्र राम्रो पोजिसनमा रहेपनि गोल गर्न असफल रहेका थिए । लगत्तै बिशाल राईको प्रहार बाहिरिएको थियो ।

मध्यान्तरअघि जोर्डनले निरन्तर दवाब बनाउदा किरणले पटक पटक नेपालालई गोल खानबाट बचाएका थिए । मौसाले ४६ औं मिनेटमा उत्कृष्ट स्किल देखाउदै चार जना डिफेन्डरलाई बिट गरेपनि अन्त्यमा बाहिर प्रहार गर्न पुगेका थिए ।

नेपालले अब आफ्नो अन्तिम खेल जुन ११ मा अष्ट्रेलियाबिरुद्ध खेल्नेछ ।

Click to comment

Trending