Headline

बिश्वकप छनोटसँगै नेपाली फुटबलमा अब्दुल्लाहले थिचेको ‘रिस्टार्ट बटन’

Published

on

नेपाली राष्ट्रिय फुटबल टोली अहिले कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नियन्त्रणमा छ । एन्फाले ‘आइरन फिस्ट’ (फलामको मुठ्ठी) का साथ टिम सञ्चालन गर्न अब्दुल्लाहलाई स्वतन्त्रता दिएको छ ।

बाल गोपाल महर्जनको प्रशिक्षणमा काठमाडौंमा थ्रि नेसन्स कपको उपाधि जितेपनि बिरक्त लाग्दो प्रदर्शन गरेको राष्ट्रिय टोलीलाई अब्दुल्लाहले ‘रिसेट’ गर्दै छन् ।

शनिबार इराकबिरुद्ध बासरामा खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा पहिलो ३० मिनेट नेपाली फुटबल ‘रिस्टार्ट’ भएको आभाष स्पष्ट थियो । नेपालबाट अनपेक्षित रुपमा दोश्रो गोल खाएपछि अर्कै टोलीको रुपमा प्रस्तुत हुँदै इराक पूर्ण रुपमा हावी भएपनि युवा खेलाडीको बाहुल्यता रहेको नेपाली टोलीको प्रदर्शनलाई लिएर गुनासो गर्ने ठाँउ थिएन ।

खेलमा नेपालले धेरै गल्ति गरेको थियो । डिफेन्समा भ्वाङ्ग परेको थियो भने अहिले एसियाकै उत्कृष्ट गोलकिपरहरु मध्ये एकको रुपमा दरिएका किरण चेम्जोङ्गको प्रदर्शन बिर्सनलायक नै थियो । यद्दपि अब्दुल्लाहको रुपान्तरण प्रकृयाको पहिलो चरणको पहिलो खेल रहेको कारण माफी दिन पनि सकिन्छ ।

अब्दुल्लाहको रुपान्तरण प्रकृया अन्तर्गत नै बिहिवारदेखि नेपालले विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट चरणका खेलहरु खेल्दै छ । दशरथ रँगशालाका लागि तय भएका नेपालको होम लेगका खेलहरु कोरोनाका कारण न्युट्रल भेन्यु कुवेतमा सारिएको हो ।

नेपालले बिहिवार चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र त्यसको तीन दिनपछि अष्ट्रेलिया विरुद्ध खेल्दै छ । आद्रता निकै बढी हुने गरेको खाडी राष्ट्र कुवेतको मौसममा अभ्यस्त हुन नेपालले इराकमा बिताएको समयले केही मद्दत अवश्य पनि गर्नेछ ।

 

अब्दुल्लाहको रिसेट बटन

अब्दुल्लाह नेपाली फुटबलमा मात्र एक खेल पुराना छन् । तर उनी नेपालमा फ्यान फेभरेट भइसके । समर्थकहरुको राष्ट्रिय टोली प्रतिको भावनालाई उनले राम्ररी क्यास गर्न जानेका छन् । नेपाली समर्थकहरुसँग जोडिन फेसबुकलाई उनले राम्रो हतियार बनाएका छन् ।

‘वान टिम, वान गोल, जय नेपाल’ को नारा उनले गर्दा नै स्थापित भइसकेको छ । र पटक पटक समर्थकहरुलाई आफूले लिएका निर्णयहरुलाई समर्थन गर्दै खेलाडीको हौसला बढाउन आग्रह गर्दै आइरहेका छन् ।

खेलाडी छनोटमा निकै बोल्ड कदम चालेका अब्दुल्लाह अहिले प्रयोगात्मक मुडमा छन् । नयाँ प्रशिक्षकमा त्यो स्वभाविक नै हो । इराकबिरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण र कुवेताका तीन खेलहरुको टाइमिङ्ग अब्दुल्लाहको लागि पर्फेक्ट देखिन्छ ।

बिश्वकपको दौडबाट बाहिर र एसिया कप छनौट पनि असम्भव जस्तै रहेको स्थितिमा अब्दुल्लाहलाई आफूले सोचे अनुरुप प्रयोग गर्ने अवसर छ । समर्थकहरुलाई साथ मै लिएर हिडेको कारण उनले परिणामको परवाह गर्न आवश्यक देखिदैन ।

साफ च्याम्पियनसिप नै हो परिक्षा

धेरैले नेपालको हालको गल्फ भ्रमणलाई अब्दुल्लाहको परिक्षाको रुपमा परिभाषित गर्दै आइरहेका छन् । तर यो अब्दुल्लाहको परिक्षा भन्दा पनि प्रयोगको समय हो । हालको छनोट जारी नै रहदा नेपाललाई एक मात्र प्रश्न सोध्ने हो भने पनि यथार्थको पिडाले घोच्न सक्छ ।

नेपाल कति पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको छ ? एक पटक पनि छैन ।

दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप हो । नेपाली समर्थकहरु जति नै उग्र बने पनि यथार्थ के हो भने नेपाल अहिलेसम्म यो क्षेत्रको ठूलो प्रतियोगिताको फाइनलसम्म पनि पुग्न सकेको छैन । राज गर्ने त धेरै परको कुरा हो ।

“परिवर्तन एकै दिन आउँदैन, पर्खनु पर्छ । मैले यो टोलीलाई विश्वकप छनोटका लागि थोरै दिनको समयमा तयार गरेको छु तर हाम्रो मुख्य लक्ष्य भनेको सेप्टेम्बरको साफ च्याम्पियनशिप हो,” साफ च्याम्पियनसिपको फाइनल पनि पुर्याउन नसक्ने हो भने आफू नेपाल बसिरहनुको कुनै औचित्य नरहेको बताउदै आएका अब्दुल्लाह भन्छन् ।

इराकसँगको खेलमा नेपाली टोलीले देखाएको प्रदर्शन र अब चाइनिज ताइपेईसँगै जोर्डन र अष्ट्रेलियाबिरुद्धका दुई कठिन खेलले नेपाललाई साफ च्याम्पियनसिपका लागि एउटा राम्रो दिशातर्फ अग्रसर गराउन भने सक्छ ।

‘मोडर्न फुटबल’

आधुनिक फुटबलमा आक्रमण धेरै हुने गर्छ । यही आक्रमक फुटबलमा बिश्वास गर्दै नेपाली टोलीलाई त्यही अनुसार ढाल्ने प्रयासमा छन् अब्दुल्लाह । आफ्नो कार्यकलको पहिलो खेलमा नै १०३ स्थान माथि रहेको इराक विरुद्ध नेपाली टोलीले दुई गोल गर्न सफल भयो ।

सातौं मिनेटमै पहिलो गोल खाए पनि बलियो इराकबिरुद्ध नेपाल आक्रमण गर्दै मिडफिल्ड र फर्वार्ड लाइनको सहयोगमा गोल गर्न सफल भयो । इराकको रक्षापंक्ति पहिलो आधा घण्टा खुकुलो देखिए पनि नेपालले देखाएको गति र आक्रमण लोभलाग्दो थियो ।

नेपालको यसअघिका ठूला टोलीहरुसँगको खेल हेर्ने हो भने पहिलो मिनेट देखि नै रक्षात्मक रणनीति अख्तियार गरेको देखिन्छ । तर इराक विरुद्ध त्यस्तो भएन । इराकबिरुद्ध भएका साना गल्तिहरुलाई सुधार्दै यही आक्रमक शैलिलाई निरन्रता दिने हो भने नेपाली फुटबल यसअघि नदेखिएको स्तरसम्म पुग्न सक्छ ।

 

बिकल्पको लागि ठूलो बन्दै पुल

मनिष डाँगीले इराकबिरुद्ध प्रभावशाली प्रदर्शन गर्दै गोल गरे । उनीसँगै डिफेन्डर गौतम श्रेष्ठले नेपालको लागि डेब्यु गरेका थिए । अवसर प्राप्त हुने हो भने सुरज जेउ ठकुरी र आयुष घलान सहित गरेर नेपालले चार नयाँ खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव दिदै घर फर्कनेछ ।

रोचक के छ भने इराक र कुवेत भ्रमणमा रहँदा अब्दुल्लाह यसअघि थ्रि नेसन्स कपमा खेलेको टोलीबाट मात्र ९ खेलाडी लिएर गएका छन् । अन्तर्राष्ट्रिय खेलमा बेञ्चमै बस्दाको अनुभव पनि फरक हुने गर्दछ ।

साधारण गणित गर्दा अहिले नेपालली राष्ट्रिय फुटबल टोलीको पुलमा ३७ जना छन् । बिमल घर्ती मगर र बिक्रम लामा चोटबाट रिकभर गर्ने प्रयासमा छन् । नेपाल सुपर लिगमा आकर्षक प्रदर्शन गर्ने अन्य केही खेलाडीहरु पनि अब्दुल्लाहको सिस्टममा अटाउन सक्छन् ।

शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताबाट पनि थप केही खेलाडीहरुको आगमन नेपाली फुटबलमा देखिन सक्छ । यसरी अगाडी आएका खेलाडीहरुलाई एउटा सिस्टममा राखेर आकार दिन सक्ने हो भने अर्को एक बर्षको अवधिमा नेपाली राष्ट्रिय टोलीमा बिकल्पको कमि हुने छैन भने टिम भित्रै पर्नको लागि प्रतिस्पर्धा पनि उत्तिकै हुनेछ ।

अब्दुल्लाह अबको एक बर्ष नेपाली फुटबलको लागि महत्वपूर्ण हुनेछन् त्यसैले राष्ट्रिय टोलीमा ‘रिस्टार्ट बटन’ उनले बिश्वकप छनोटबाटै थिचेर अगाडी बढेका छन् ।

Click to comment

Trending