Headline

नयाँ सिजनको प्रिमियर लिग उपाधि दौडमा टुचेलले ल्याएको ट्विस्ट

Published

on

म्यानचेस्टर सिटीले गत बर्षहरुमा जसरी नै अबको सिजन प्रिमियर लिगमा आफ्नो दबदबा कायम राख्ने सोचेको छ भने उ गलत हुन सक्छ । च्याम्पियन्स लिग फाइनलमा चेल्सीसँग १–० को हारले सिटीलाई पक्कै पनि प्रिमियर लिगको उपाधि रक्षाको लागि सोच्न बाध्य बनाएको छ ।

२०२०–२१ मा म्यानचेस्टर युनाइटेड र लिभरपुलले च्याम्पियन सिटीलाई पछ्याउँदा मध्य सिजनमै उक्त दौडबाट बाहिरिएको स्विकारेका थिए । तर, अर्को सिजन भने चेल्सी उपाधि होडमा नजिक आउने छ र त्यस्को एक कारण हो जोशले भरिएको युवा टोली ।

हुन त अर्को सिजन पूर्ण फिट भएर आउने डच डिफेन्डर भर्जिल भ्यान डाइक र केही नयाँ केही खेलाडीको आगमनले लिभरपुलमा अर्कै जोश हुन सक्छ भने युनाइटेड पनि धेरै खेलाडी किन्दै उपाधि होडमा आउने कोशीष गर्न सक्छ । तर चेल्सीका लागि नयाँ प्रशिक्षक थोमस टुचेल प्रमुख पात्र रहने छन् ।

चार महिनामै जर्मन प्रशिक्षकले चेल्सीलाई अर्को सीजन च्याम्पियन्स लिगमा छनोट हुन संघर्ष गरिरहेका टोलीबाट नयाँ युरोपियन च्याम्पियनमा रूपान्तरण गरे जुन फुटबलमा चानचुने कुरा होइन । त्यसैले सिटी व्यवस्थापक पेप ग्वार्डियोलाले आँफै बुझेका होलान् कि अर्को सिजन उनले आफ्नो नयाँ टोली सहित उपाधि रक्षा गर्न तयार रहनु पर्छ ।

चेल्सीमा युवा खेलाडीहरुको बाहुल्यता छ त्यसैले टुचेललाई टिमलाई चाहे जस्तो आकार दिन सक्ने मौका छ ।

सिटी अर्को सिजन बलियो देखिए पनि ग्वार्डियोलाले भुल्नु हुँदैन कि टुचेल उनका लागि ठुलो टाउको दुखाइ पनि हुन् । टुचेलले च्याम्पियन्स लिगको फाइनलमा पराजित गर्दा उनले तेश्रो पटक सिटीलाई हराएका थिए । एफए कप सेमिफाइनल, इतिहादमा अवे लेग र पोर्टो तीनवटै मैदानमा टुचेल ग्वार्डियोलामाथि हावी भए ।

टुचेल पनि नयाँ सिजनका लागि आतुर छन् । उनी भन्छन्ः “अब दुई–तिन दिन चेल्सीको लागि उत्सवको माहौल छ । रमाइलो गर्ने हो । एक–दुइ हप्ता यस्तै हो त्यस पछि निकै कामहरु गर्नुछ ।”

“हामी कोही पनि बिश्राम गर्न चाहदैँनौ । म पनि चाहान्न, हामीलाई अर्को सिजनको तयारी थाल्नु छ । त्यही जोश र उर्जाका साथ । यो सबै माहौल सक्किए पछि हामीले यो जितलाई पचाउन सक्नु पर्छ र अर्को सिजनका लागि लड्नु पर्छ । हाम्रा खेलाडीहरु निकै युवा छन् र एक उपाधि जिते पछि अर्को जित्नका लागि भोको हुनु जरुरी छ,” टुचेलले थपे ।

चेल्सीको युवा मिडफिल्डरको जमातले पनि उसले खेल्ने अट्याकिङ फुटबललाई रङ भरिदिएको छ । चेल्सी मिडफिल्डर काइ ह्याभर्ट्ज, मेसन माउण्ट, रिज जेम्स, बेन चिलवेल र अमेरिकि स्टार क्रिश्चियन पुलिसीच यसको उदाहरण हुन भने ३० वर्षिय फ्रेन्च मिडफिल्डर एनगोलो कान्टे रोकिने नाम नै लिइरहेका छैनन् ।

टुचेललाई समस्या भने मुख्य डिफेन्डरको हुने छ । ब्राजिलियन थियागो सिल्भाको उमेर बढ्दै गएको अवस्थामा टुचेल नयाँ युवा र भरपर्दो डिफेन्डरलाई क्लबमा ल्याउन चाहन्छन् । टुचेलले आफुले चाहेको जस्तो चेल्सी बनाउने हो भने प्रिमियर लिगमा ’टुचेल भर्सेस ग्वार्डियोला’ हुन समय लाग्दैन । दिमागी खेलका धनी यि दुवै प्रशिक्षकको ’ट्याक्टिकल फुटबल’ले समर्थकलाई कहिल्यै निराश बनाउने छैन ।

अर्का जर्मन प्रशिक्षक योर्गेन क्लोप युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्सायरले पनि च्याम्पियन्स लिगको फाइनल पछि आ–आफ्नो क्लबमा थपिनु पर्ने खेलाडीको सुची पनि तैयार गरिसकेको हुनु पर्छ ।
टुचेलको पनि नयाँ खेलाडीहरु सहित नयाँ सेना बनाउने लक्ष्य पुरा हुने संकेत देखिसकेको छ । फाइनल पछि च्याम्पियन्स लिगको ट्राफी सहित चेल्सी मालिक रोमन अब्रमोभिचले टुचेलको टाउकोमा हात राखिसकेका छन् ।

“म अब्रामोभिचलाई आफू भोको रहेको बिश्वस्त गराउन चाहन्छु । मलाई अर्को उपाधि चाहिएको छ । मेरो आस्था, बिश्वास र फुटबल प्रतिको प्यासनसँग सुहाउदो भएकोले म चेल्सी क्लबको हिस्सा हुन सकेकोमा निकै खुशी छु । त्यसैले मेरो महत्वाकांक्षा भनेको अझै उपाधिहरु जित्ने नै हो,” टुचेल भन्छन् ।

 

Click to comment

Trending