Headline

‘धैर्य गर्नुहोला, हामीलाई केही समय चाहिन्छ’

Published

on

नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले इराकसँग फराकिलो अन्तरले पराजित भएपछि धैर्य राख्न आग्रह गरेका छन् ।

बासरामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा नेपाल ६–२ को फराकिलो अन्तरले पराजित भयो । अब्दुल्लाह प्रशिक्षक भएपछि नेपालले खेलेको यो पहिलो खेल हो ।

“राम्रो परिणाम ल्याउन नसकेकोमा म नेपालमा सबैलाई सरी भन्न चाहन्छु । हामीले एउटा मौका सदुपयोग गर्दै ३–१ बनाउन सकेको भए शायद जित्न सक्थ्यौं । यहाँ आउनु अघि हामीले ११ वा १२ दिनमात्र तैयारी गरेको थियौं । हामीलाई अझै केही समय चाहिन्छ । सबैजना धैर्य राखिदिनु होला,” अब्दुल्लाहले खेलपछि बासरामा भने ।

थुप्रै नयाँ तथा अनुभवहीन खेलाडीहरु लिएर भ्रमणमा निक्लिएका अब्दुल्लाहलाई केही राहत दिने क्रममा नेपालले दुई गोल गरेको थियो । मनिष डाँगीले डेब्यु खेलमै नेपालको लागि गोल गर्न भ्याएका थिए । अब्दुल्लाह नयाँ खेलाडीहरुको प्रदर्शनबाट सन्तुष्ट देखिएका छन् ।

“नयाँ खेलाडीहरुले राम्रै खेलेका छन् । उनीहरुलाई समय चाहिन्छ र नेपालमा मानिसहरुको बिश्वास पनि । यदि तपाईले सिल्ली मिस्टेक गर्ने हो भने हार्नु हुन्छ । हामीबाट गल्ति भएको छ । मैदान धेरै भिजेको थियो र हामीले यो बलमा प्रशिक्षण गर्न पनि पाएको थिएनौं,” उनले भने ।

नेपालले ६ गोल खादा रक्षापंक्तिले निकै फितलो प्रदर्शन गरेको थियो । आधा घण्टासम्म नेपालले २–१ को अग्रता लिएपनि इराकले त्यसपछि भने सशक्त प्रदर्शन गर्दै गोलको बर्षा गरेको थियो । नेपाल अब इराकबाट कुवेतका लागि प्रस्थान गर्नेछ । कुवेतमा नेपालले बिश्वकप छनौटका खेलहरु खेल्नेछ ।

Click to comment

Trending