Headline

च्याम्पियन्स लिग फाइनलः इङ्गलिस फुटबलको दम

Published

on

पेप ग्वार्डियोलाको म्यानचेस्टर सिटी इतिहासकै पहिलो च्याम्पियन्स लिग उपाधिबाट मात्र ९० मिनेट टाढा छ तर उसको अभियानमा एउटा यस्तो चेल्सी टोली छ जसले पछिल्लो केही महिना सुधारिएको प्रदर्शन गर्दै युरोपकै सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।

शनिबार पोर्चुगलको पोर्टोमा चेल्सी र सिटी भिड्दा तेश्रो पटक इङ्गलिस प्रिमियर लिगका टोली च्याम्पियन्स लिगको फाइनलमा खेलिरहेको हुनेछन् । पछिल्लो तीन सिजनमा भने दुई पटक इङ्गलिस टोली फाइनल खेल्दैछन् । त्यसैले शनिबारको फाइनलले महँगो इङ्गलिस फुटबलको शक्तिलाई पनि हाइलाइट गर्छ ।

चेल्सी र सिटीले पछिल्लो दुई दशकमा अरबपति बिदेशी मालिकहरुको दममा देखाएको रुपान्तरणले सिँगो इङ्गलिस फुटबलकै परिदृश्यलाई नै बदलिदिएको छ । चेल्सी र सिटी संसारकै ठूलो क्लब फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भन्ने कुरा केही समयअघि मात्रै पनि धेरैका लागि हास्यास्पद हुने गर्दथ्यो ।

१९८६ मा छोटो समय मात्र टिकेको फुल मेम्बर्स कपको फाइनलमा यी दुई टोली खेल्दा चेल्सीले वेम्ब्लीमा ५–४ को जित हात पारेको थियो । यो नयाँ अवराधारणाको प्रिमियर लिग र आधुनिक च्याम्पियन्स लिग अस्तित्वमा आउनु अघिको कुरा हो ।

इङ्गलिस फुटबल र च्याम्पियन्स लिगको आधुनिकीकरणको केही बर्षपछि रुसी ब्यापारी रोमन अब्रामोभिचले चेल्सीलाई २००३ र अबु धाबीको युनाइटेड ग्रुपका शेख मन्सुरले सिटीलाई २००८ मा खरिद गरेका थिए ।

पर्याप्त पैसा खर्च गर्ने मामिलामा चेल्सी अघि बढ्यो र उसले नै च्याम्पियन्स लिग उपाधिको पहिलो स्वाद चाख्ने क्रममा २०१२ को फाइनलमा जर्मन महारथी बायर्न म्युनिखलाई पेनाल्टीमा हरायो । चेल्सीले युरोपा लिग पनि दुई पटक जितिसिकेको छ ।

९० मिनेटको दौरान दुरी घटाउन आवश्यक

खाडीबाट लगानी आइसके पछिको १३ बर्षमा सिटी यसअघि कहिल्यै पनि यति टाढा सम्म आइपुगको थिएन । सैद्धान्तिक रुपमै च्याम्पियन्स लिग जिताउने हिसाबले क्लब सम्हालेका ग्वार्डियोलाको मातहतमै सिटी चार पटक असफल भइसकेको छ ।

“हामी यसअघिका सिजनहरुमा नक आउट भएका टोलीहरु जस्तै छौं । अघिल्लो सिजनहरुको तुलनामा यो बर्ष भने धेरै कुरा हाम्रो पक्षमा आएको छ,” प्रशिक्षकको रुपमा तेश्रो च्याम्पियन्स लिग उपाधिको नजिक रहेका ग्वार्डियोलाले भने ।

ग्वार्डियोलाले पछिल्लो पटक स्पेनिस महारथी बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि जिताएपछि १० बर्ष युरोपमा खाली हात रहेका छन् ।

चौथो सिजनमा तेश्रो प्रिमियर लिग उपाधि जित्नुका साथै लिग कप पनि आफ्नो पोल्टामा पारेको सिटी केभिन डि ब्रुन र रुबेन डियास जस्ता खेलाडीहरुको उपस्थितिले इस्टाडियो डो ड्रागामा स्पष्ट दाबेदारको रुपमा रहेको छ ।

यद्दपि पछिल्लो ६ हप्तामा चेल्सीले सिटीलाई दुई पटक हराइसकेको छ – पहिलो जित एफए कपको सेमिफाइनलमा थियो भने दोश्रो लिगमा सिटीकै इतिहाद स्टेडियममा थियो । “म चेल्सी भन्दा कठिन प्रतिद्वन्दीको अपेक्षा गर्न सक्दिन,” ग्वार्डियोला भन्छन् ।

जनवरीमा क्लब लेजेण्ड फ्रांक लाम्पार्डको स्थानमा थोमस टुचेलको आगमनसँगै रुपान्तरित भइसकेको छ । एफए कप फाइनलमा लेस्टर सिटीसँग व्यहोरेको पराजयसहित यो इङ्गलिस सिजन तीन हारका साथ टुँगाएपनि चेल्सी अर्को सिजनका लागि च्याम्पियन्स लिगमा स्थान बनाउन सफल भएको छ ।

“हामी यहाँ सम्म आएको छौं । यो अविश्वसनीय उपलब्धि हो तर यहाँ आइसकेपछि हामी आफ्नो उत्कृष्टमा हुन चाहन्छौं । तर अर्को तर्फ सिटी र पेप छन् जो युरोपमा र सम्भवत बिश्वकै उत्कृष्ट बनेर बसेका छन्,” टुचेलले भने ।

“अब हामीले ९० मिनेटको दौरान सिटीसँगको दुरी घटाउने हो । राम्रो कुरा के हो भने हामीले यो गरि पनि सकेका छौं । फुटबलमा सबै थोक सम्भव छ । फाइनलमा सबै थोक सम्भव छ,” उनले भने ।

Click to comment

Trending