अन्तर्राष्ट्रिय

ट्वान्टी ट्वान्टी विश्वकप अघि आईपीएल गर्ने गृहकार्य गर्दै बिसीसीआई 

Published

on

भारती क्रिकेट बोर्ड (बिसीसीआई) ले ट्वान्टी ट्वान्टी विश्वकप अघि स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी खेल गर्ने तयारी गरेको छ ।

बिसीसीआईले सेप्टेम्बर १८ देखि अक्टोबर १२ सम्मको समयमा आईपीएल गर्नका लागि विचार गरेको हो । सहभागी टोलीका खेलाडीहरुमा कोरोना संक्रमण भेटिए पछि मे चारमा २९ वटा खेल पश्चात रोकिएको आईपीएलको बाँकी खेल अब युएईमा गर्ने पनि योजनामा रहेको छ ।

तर उक्त समयमा आईपीएल आयोजना गर्न बिसीसीआईलाई सहज भने हुने छैन । भारतको आफ्नै तथा अन्य टोलीको खेल तालिका हेर्दा उसलाई यो गराउन फलामको चियुरा चपाए सरह हुने देखिन्छ । यदि त्यस समयमा आयोजना गर्ने हो भने ट्वान्टी ट्वान्टी विश्वकप त्यसको एक हप्ता अघि मात्र सकिन्छ । त्यस्तै क्यारेबियन प्रिमियर लिग (सिपीएल) पनि त्यसै समय अर्थात् अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म हुँदैछ जसका कारण वेस्ट इन्डिजका खेलाडीहरुको सहभागिता बारेमा नै निर्णय लिन पर्ने हुन्छ ।

बिसीसीआईले सिपीएलमा सहभागी खेलाडीहरुलाई आईपीएलमा उपलब्ध हुनका लागि वेस्ट इन्डिज बोर्डसँगको समन्वय गर्न पर्ने हुन्छ जसका लागि सिपीएल केहि समय अघिका लागि सार्न पर्ने हुन्छ । तर वेस्ट इन्डिजको खेल तालिका हेर्दा खेल सार्न सहज भने हुने देखिँदैन ।

त्यसै गरि भारतले इंग्ल्यान्ड क्रिकेट बोर्डसँग पनि समय मिलाउन पर्ने हुन्छ । आईपीएल सुचारु गर्नका लागि बिसीसीआईले इंग्ल्यान्ड क्रिकेट बोर्डलाई पनि पाँच खेलको टेस्ट शृंखला एक साता अघि सार्नका लागि आग्रह गरेको समाचार आएको थियो । भारतले इंग्ल्यान्ड भ्रमणका क्रममा घरेलु टोलीसँग पाँच टेस्ट खेल्दै छ र उक्त शृंखला अगष्ट चारमा सुरु भएर सेप्टेम्बर १४ मा सकिन्छ । भारतसँगको शृंखला पछि इंग्ल्यान्डले बंगलादेश र पाकिस्तानको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भारतले आफ्नै अन्तर्राष्ट्रिय खेल तालिका पनि मिलाउन पर्ने हुन्छ । भारतले दक्षिण अफ्रिकासँग आफ्नो घरेलु मैदानमा विश्वकप अघि समान ३-३ ट्वान्टी ट्वान्टी र एकदिवसीय खेल खेल्ने कार्यक्रम छ ।

बिसीसीआईले आईपीएल सुचारु गर्नका लागि सबै फ्रेन्चाइजहरुसँग पनि छलफल सुरु गरेको छ । उसले बाँकी ३१ खेलका लागि २५ दिन को समय पनि फ्रेन्चाइजहरुसँग मागेको छ ।

Click to comment

Trending