Headline

गोलकिपरहरुबाट भएका ६ उत्कृष्ट गोलहरु

Published

on

वेष्टब्रोमविच आल्बियनबिरुद्ध आइतबारको इङ्गलिस प्रिमियर लिग खेलमा गोलकिपर एलिसन बेकरले ९४ औं मिनेटमा हेडरमार्फत नाटकीय गोल गरे लगत्तै लिभरपुल व्यवस्थापक योर्गन क्लोपले त्यसलाई गोलकिपरहरुबाट भएका मध्ये सबैभन्दा उत्कृष्ट गोल को संज्ञा दिए ।

क्लोपको दाबीमा भने बेकरलाई प्रतिस्पर्धा दिने अन्य गोलकिपरहरु पनि छन् । आफ्नै पेनाल्टी एरियाबाट दौडदै सनसनीपूर्ण गोल गर्ने थुप्रै गोलकिपरहरु छन् । आफ्नो करिअरमा १ सय ३० भन्दा बढी गोल गरेका ब्राजिलियन रोजेरियो सेनी वा डेड बल बिशेषज्ञहरु पाराग्वेका होजे लुईस चिलाभर्ट र कोलम्बियाका रेने हिगिता ती मध्ये पर्दछन् ।

धेरै जसो गोलकिपरहरुका लागि गोल गर्ने स्थिति खेलको अन्त्यमा निकै कठिन समयमा आउने गर्दछन् । जितका लागि व्यग्र प्रशिक्षकहरुले आफ्नो किपरलाई पनि अन्तिम समयमा बिपक्षीको गोलपोस्टमा जान निर्देशन दिएका हुन्छन्, लिभरपुल बेन्चले आइतबार एलिसनलाई पठाए जस्तै ।

एलिसनको उत्कृष्ट हेडर गोल लिभरपुलका लागि कराडौको हुन सक्छ किनभने आइतबार उसलाई राम्रो धन आर्जन हुने च्याम्पियन्स लिगमा छनौट हुन जित आवश्यक थियो । फुटबल इतिहासमा आफ्नो पोस्ट छोडेर अघि बढ्दै नाटकीय गोल गर्ने अन्य गोलकिपरहरुको को–को छन् त ?

रेने हिगिता (कोपा लिबर्टाडोरेस सेमिफाइनल, १९९५)

आफ्नो करिअरमा हिगितालाई दर्शनीय प्रदर्शन गर्ने बानी परेको थियो । इङ्गल्याण्डबिरुद्ध वेम्ब्लीमा खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा स्कोरपियन किकले गोल बचाउनु भन्दा केही दिन अगाडी मात्रै उनले आफ्नो क्लब एट्लेटिको नासियोनलका लागि सनसनीपूर्ण प्रदर्शन गरेका थिए ।

कोलम्बियाको मेडेलिनमा भएको कोपा लिबर्टाडोरेस सेमिफाइनलको पहिलो लेगमा अर्जेन्टिनी टोली रिभर प्लेटबिरुद्ध उनले गरेको गोलले नै एट्लेटिकोलाई फाइनल पुग्ने बाटोतर्फ डोर्याएको थियो । ५१ औं मिनेटमा उनले प्रहार गरेको सशक्त फ्रि किक रिभर प्लेटको वाल माथिबाट जादै बारमा लागेर गोल भएको थियो ।

दोश्रो लेगमा पनि उनले पेनाल्टी सुटआउटमा गोल गर्दै एट्लेटिकोलाई ८–७ को जित दिलाउदै फाइनलसम्म पुराए ।

चिलाभर्ट (बिश्वकप छनौट, १९९६)

चिलाभर्टले आफूले करिअरमा गरेका सबै ८ अन्तर्राष्ट्रिय गोलहरु प्रतिस्पर्धात्क खेलहरुमा रहेको थियो । ती मध्ये दुई अर्जेन्टिनाबिरुद्ध थियो । सेप्टेम्बर १ मा अर्जेन्टिनाबिरुद्धको दक्षिण अमेरिकी छनौट खेलमा उनको लो ड्राइभ गोलमा परिणत भएपछि पाराग्वेले बुनोस आएरेसमा बराबरी गर्दै दोश्रो भएको थियो । पाराग्वे १२ बर्षमा पहिलो पटक बिश्वकपका लागि छानियो ।

जिम्मी ग्लास (इङ्गल्याण्ड थर्ड डिभिजन, १९९९)

सिजनको अन्तिम दिन, मे ८ मा प्लाइमाउथबिरुद्ध खेल्दै गर्दा कारलाईललाई फुटबल लिगमा टिकीरहन जितको आवश्यकता रहेको थियो । खेल बराबरीमा रहेको स्थितिमा थपिएको अतिरिक्त चार मिनेटपनि सकिनै लाग्दा कारलाईलले कर्नर पायो ।

लोनमा आएका गोलकिपर ग्लासलाई प्रशिक्षक नाइजेल पियर्सनले अगाडी पठाए । ६ यार्ड बक्समा उनको अगाडी नै बल आईपुग्दा ग्लासले भलि मार्फत सुन्दर गोल गरे । ग्लासले कारलाईलका लागि खेलेको तीनमध्येको अन्तिम खेल त्यही थियो ।

ओस्कारिन मासुलेके (दक्षिण अफ्रिकी प्रिमियर लिग, २०१६)

नोभेम्बर ३० मा भएको यो खेलमा मासुलेकेले कर्नरमा प्रहार गरेको दर्शनीय बाइसाइकल किकले उनको टोली बरोकालाई ओर्लाण्डो पाइरेट्सबिरुद्ध बराबरी त दिलायो तर क्लब भने रेलिगेट भएको थियो ।

यो सुचीमा मासुलेकेको गोल किन पनि छ भने यो यति राम्रो थियो की यसले फिफाको गोल अफ द इयरको सुचीमा स्थान बनायो । यसको पुरस्कार भने फ्रेञ्च फर्वार्ड ओलिभर जिरुडले गरेको स्कोरपियन किकले पायो । मासुलेकेको गोल दोश्रो भयो ।

अल्बर्टो ब्रिग्नोली (इटालीय सिरी आ, २०१७)

बेनेभेन्टोका गोलकिपर ब्रिग्नोली लोनमा आएका अर्का हिरो थिए जसले एसि मिलानबिरुद्ध डिसेम्बर ३ को खेलमा ९५ औं मिनेटमा गोल गरिदिए । फ्रि–किकमा अगाडी बढेका ब्रिग्नोलीले पेनाल्टी बक्समा आएको बललाई हलुका टचले सही दिशा दिदै क्लबलाई लगातार १४ पराजयपछि पहिलो अंक दिलाएका थिए ।

राफाल गिकिविज (जर्मन बुन्डेसलिगा टु, २०१८)

गिकिविजले अक्टोबर ७ मा भएको खेलमा हाइडेनहेमबिरुद्ध अन्तिम सेकेण्डमा गरेको बराबरी गोलले उनको टोली युनियन बर्लिनलाई बुन्डेसलिगा दोश्रो डिभिजनको शुरुवाती चरणमा अपराजित राख्न मद्दत गर्यो । तर उनको बराबरी गोल सिजनको अन्त्यम निकै महत्वपूर्ण साबित भयो ।

एक अंकले युनियन बर्लिनले सिजन तेश्रो स्थानमा सक्कायो र प्ले अफमा स्टुटगार्टलाई पराजित गर्दै क्लब इतिहासमै पहिलो पटक शिर्ष श्रेणीमा उक्लियो । युनियन बर्लिन अझै पनि जर्मन बुन्डेसलिगामै छ ।

Click to comment

Trending