Headline

ला लिगाका लागि एट्लेटिको र रियलको कडा टक्कर, बार्सिलोना उपाधि होडबाट बहिरियो

Published

on

आईतबार ला लिगा निकै रोमान्चक बन्न पुग्यो । एकै समयमा १० खेल भएको दिनमा एट्लेटिको म्याड्रिडले ओसासुना माथि पुनरागरम जित,रियल म्याड्रिडले एथ्लेटिक क्लबलाई १-० ले पराजित गर्दा बार्सिलोना भने उपाधि होडबाट बहिरिन पुग्यो । उपाधिका लागि भने दुई म्याड्रिड क्लबहरु अन्तिम दिन सम्म प्रतिस्पर्धा गर्ने छन् ।

एट्लेटिको म्याड्रिडले आइतबार भएको खेलमा ओसासुना माथि पुनरागरम जित निकालेको थियो । पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भने ओसासुनाले पहिलो गोल गर्‍यो । ओसासुनाका आन्टे बुडिमिरले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि त्यस्को सात मिनेट पनि नबित्दै एट्लेटिकोले बराबरी गोल फर्काएको थियो ।

जाओ फिलेक्सको उत्कृष्ट चिप पासामा रेनान लोडी गोल गर्दै एट्लेटिकोका लागि बराबरी गोल गरेका थिए । लुइस स्वारेजले खेलको अन्तिम दुई मिनेट बाँकी छदाँ गोल गरे पछि एट्लेटिकोले २-१ को सानदार पुनरागमन जित निकालेको थियो ।

रियल म्याड्रिडले पनि एथ्लेटिक क्लबलाई १-० ले हराउँदै उपाधि होडमा कायम रह्यो । पहिलो हाफमा कुनै गोल नभए पनि रियलले दोस्रो हाफमा अग्रता लियो । रियलका लागि खेलको ६८ औं मिनेटमा नाचो फर्नान्डेजले एक मात्र निर्णायक गोल गरे ।

यस्तै बार्सिलोना भने सेल्टा भिगोसँग २-१ ले पराजित हुँदै उपाधि होडबाट बहिरिन पुग्यो । कप्तान लियोनल मेस्सीले पहिलो हाफको २८ औँ मिनेटमा गोल गरे पनि बार्सिलोनाले उक्त अग्रता १० मिनेट पनि बचाउन सकेन । सान्टी मिनाले ३९ औँ मिनेटमा पेनाल्टी एरियाबाट गरेको प्रहार सजिलै गोल भएको थियो ।

दोस्रो हाफमा निकै अक्रमक देखिए पनि बार्सिलोनाले गोल गर्न सकेन र मिनाले नै ८९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई उपाधि होडबाट बिदाई गरिदिएका थिए ।

अंक तालिकामा एट्लेटिको म्याड्रिडको ८३ रियल म्याड्रिडको ८१ अंक छ । आउने आइतबार हुने अन्तिम खेलमा उपाधिका लागि एट्लेटिकोले उक्त खेल जित्नै पर्ने छ । एट्लेटिकोले रेलिगेसनमा परेको भलाडोइड विरुद्ध खेल्दा रियल म्याड्रिडले भिल्लारियलसँग खेल्दै छ ।

Click to comment

Trending