Headline

रोनाल्डो, मेस्सी र फेडेररभन्दा बढी कमाई गरेका आइरिस फाइटर

Published

on

स्विस टेनिस लेजेण्ड रोजर फेडेरर तथा फुटबलका दुई सुपरस्टार क्रिस्चियानो रोनाल्डो र लियोनेल मेस्सीलाई समेत पछाडी पार्दै युएफसी फाइटर कोनर म्याकग्रेगर यस बर्ष सर्वाधिक कमाउने खेलाडी बनेका छन् ।

फोर्ब्सले निकालेको पछिल्लो बर्षमा धेरै कमाई गर्ने खेलाडीहरुको सुची अनुसार म्याकग्रेगर कुल १ सय ८० मिलियन डलर आम्दानी गर्दै शिर्ष स्थानमा उक्लिएका हुन् । अघिल्लो बर्ष मात्र ४८ मिलियन डलर कमाएका म्याकग्रेगर धेरै कमाउने खेलाडीको सुचीको १६ औं स्थानमा रहेका थिए ।

विश्वभर फैलिएको कोरोनाको कहरका कारण धेरै खेलाडीको आम्दानी घटेको भए पनि म्याकग्रेगरले भने अघिल्लो बर्षको तुलनामा १३८ मिलियन डलर बढी कमाई गर्न सफल भएका छन् ।

गत बर्ष एक फाइट मात्र खेलेका उनले त्यो खेल मार्फत २२ मिलियन डलर आम्दानी गरेका थिए भने बिभिन्न ब्रान्डहरुको बिज्ञापन मार्फत १ सय ५८ मिलियन डलर कमाउन सफल भएका थिए ।

अघिल्लो बर्ष धेरै कमाउने खेलाडीको सुचीको अग्रस्थानमा रहेका रोजर फेडेरर यस पटक तल झरेर सातौं स्थानमा चिप्लिएका छन् । अघिल्लो बर्ष १ सय ६ दशमलब ३ मिलियनका साथ पहिलो स्थानमा रहेका फेडेररको गत बर्षको आम्दानी भने घटेको छ ।

गत बर्ष फेडेररले मात्र ९० मिलियन ३० हजार डलर कमाई गर्न सके । उनको ९० मिलियन ब्रान्ड इन्डोर्समेन्टबाट भएको थियो भने ३० हजार खेलबाट । चोटका कारण मैदानमा उत्रन असफल भएका कारण पनि फेडेररको कमाई घटेको हो ।

फुटबल तर्फ अघिल्लो बर्ष सबैभन्दा अगाडी रहेका रोनाल्डोलाई पछि पार्दै मेस्सी अग्रस्थानमा पुगेका छन् । अघिल्लो बर्ष रोनाल्डो दोश्रो र मेस्सी तेश्रो स्थानमा रहेका थिए भने यस पटक मेस्सी दोश्रो तथा रोनाल्डो तेश्रो स्थानमा झरेका छन् ।

अघिल्लो बर्ष १ सय ४ मिलियन कमाएका मेस्सीले यस पटक १३० मिलियन आम्दानी गरेका छन् भने अघिल्लो बर्ष १ सय ५ मिलियन कमाएका रोनाल्डोको यस पटकको कमाई १ सय २० मिलियन पुगेको छ ।

फुटबलका नै नेमारको भने आम्दानी घट्न पुगेको छ भने उनको स्थान पनि खस्किएको छ । अघिल्लो बर्ष ९५ दशमलब ५ मिलियन आम्दानी गरेका उनी धेरै कमाउने खेलाडीको सुचीको चौथों स्थानमा थिए भने यस पटक मात्र ९५ मिलियन आम्दानी गर्न सफल रहे भने छैठौं स्थानमा झरेका हुन् ।

धेरै कमाई गर्ने १० खेलाडी

१. कोनर म्याकग्रेगर – १८० मिलियन
२. लियोनेल मेस्सी – १३० मिलियन
३. क्रिस्टियानो रोनाल्डो – १२० मिलियन
४. डाक प्रेस्कोट – १०७.५ मिलियन
५. लेब्रोन जेम्स – ९६.५ मिलियन
६. नेयमार – ९५ मिलियन
७. रोजर फेडेरर – ९० मिलियन
८. लुइस हेम्लिटन – ८२ मिलियन
९. टम ब्राडी – ७६ मिलियन
१०. केभिन डुरान्ट – ७५ मिलियन

Click to comment

Trending