Headline

नेपालको एकदिवसीय बिश्वकप खेल्ने र टेस्ट राष्ट्र बन्ने सपना पुरा हुन सक्छ

Published

on

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसि) ट्वान्टी ट्वान्टी बिश्वकपसँगै एकदिवसीय बिश्वकपमा पनि बढी टिमको सहभागिता गराउनुका साथै यसअघि सञ्चालन हुँदै आएको अन्तर महादेशीय कप फर्काउन तर्फ सकारात्मक देखिएको छ ।

आईसिसिले चाडै नै यो निर्णय लिन नजिक पुगिरहदा यसले नेपालसँगै धेरै एशोसिएट राष्ट्रहरुको ५० ओभरको बिश्वकप खेल्ने र टेस्ट राष्ट्र बन्ने सपना साकार हुन सक्छ ।

यसै बर्ष भारतमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकपमा १६ टोलीको नै सहभागिता रहनेछ भने २०२२ मा अष्ट्रेलियामा हुने प्रतियोगितामा पनि त्यही संख्यामा टिमहरु रहने छन् । २०२२ को ट्वान्टी ट्वान्टी बिश्वकपका लागि नेपालले सिधै ग्लोबल क्वालिफायरमा स्थान बनाइसकेको छ ।

तर सन् २०२४ को संस्करणमा आईसिसिले यो संख्या २० बनाउन गइरहेको क्रिकइन्फोले जनाएको छ । यो संरचनाको बिश्वकपमा पाँच टिमको चार समुह विभाजन गर्दै प्रतियोगिता गराइनेछ ।

त्यस्तै आईसीसीले एकदिवसीय विश्वकपमा पनि धेरै राष्ट्रलाई स्थान दिनुको साथ साथै इन्टरकन्टिनेन्टल कपलाई पनि अर्कै नाम दिएर फेरी प्रतियोगिता सुरु गर्ने भएको छ । यसको साथै महिला प्रतियोगितामा पनि सहभागी राष्ट्रको संख्या बढाउनुको साथ साथै क्रिकेटलाई ओलम्पिकमा सहभागिता पनि गराउने भएको छ ।

सन् २००७ मा १६ राष्ट्रको सहभागिता रहेको एकदिवसीय विश्वकपमा त्यस पछि सहभागी टोलीको संख्या घटाएर सन् २०११ मा १४ तथा सन् २०१५ र २०१९ मा १० राष्ट्रमा सिमित गरिएको थियो । ब्रोडकास्टरहरुले कम भन्दा कम खेलहरु हुँदा आर्थिक रुपमा प्रायोजकहरु आकर्षित हुने धारणा राखेपनि टिमको संख्या घटाइएको थियो ।

हालै प्रमुख कार्यकारीहरुको बैठकले माथि उल्लेखित विषयमा छलफल गरेका थिए । यसका बारेमा केहि निर्णय नभए पनि सबैले यसमा सहमति जनाएका थिए र आईसीसीले छिट्टै निर्णय लिने पनि जनाइएको छ ।

सबैभन्दा ठूलो निर्णय भने चार दिने क्रिकेटको रुपमा रहेको अन्तर महादेशीय कपको पनरागमन हुन सक्छ । इन्टर कन्टिनेन्टल कप नाम दिइएको प्रतियोगिता एशोसिएट राष्ट्रहरुको लागि प्रथम श्रेणीको क्रिकेटको अनुभव गर्ने आधार रहदै आएको थियो ।
२०१९ को बिश्वकपसँगै यो प्रतियोगिता बन्दा हँदा एशोसिएट राष्ट्रहरु कसरी टेस्ट राष्ट्र बन्ने भन्ने अन्यौल थियो । आयरल्याण्ड र अफगानिस्तान यही इन्टर कन्टिनेन्टल कपको प्रदर्शनपछि टेस्ट राष्ट्र बनेका थिए ।
यस बाहेक आईसीसीको पछिल्लो बैठकमा इंग्ल्यान्डका टम ह्यारीसनले क्रिकेटले पनि ओलम्पिकमा सहभागिता जनाउनु पर्ने कुरा उठाएका थिए । भारतीय क्रिकेट बोर्डले पनि यसमा सहमती जनाएको छ । तर उसले इन्डियन ओलम्पिक एसोसिएसनको हस्तक्षेप सहन नसक्ने जनाएको थियो ।

Click to comment

Trending