Headline

चितवनलाई हराउदै काठमाडौं रेजर्स लिग चरणको शिर्ष टोली

Published

on

काठमाडौं रेजर्स एफसी चितवनलाई २–१ ले पराजित गर्दै नेपाल सुपर लिगको समुह चरणको बिजेता बनेको छ ।

उच्च लयमा रहेका बिदेशी खेलाडी मेसुके र सन्जोग राइले एक–एक गोल गरेपछि काठमाडौंले चौथो जितसँगै १३ अंकका साथ लिग चरणको बिजेता बनेको हो । धनगढी एफसीसँग मात्र हारेको काठमाडौंले एक खेलमा बराबरी गरेको थियो ।

यसअघि नै प्लेअफमा प्रवेश गरिसकेको काठमाडौंले अब फाइनल प्रवेशका लागि धनगढीसँग नै खेल्नेछ । धनगढीले लिग चरणमा काठमाडौंलाई ३–० ले हराएको थियो । धनगढी र काठमाडौंबीचको खेलको पराजित टोलीले भने एलिमिनेटरको बिजेतासँग अर्को मौका पाउनेछ ।

एलिमिनेटरमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी खेल्ने छन् । चितवन भने प्रतियोगितामा एक खेल पनि जित्न असफल हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

आइतबार खेलको सबै गोल पहिलो हाफमा भएको थियो । १६ औं मिनेटमा मेसुकेले काठमाडौंलाई अग्रता दिलाएका थिए ।

आफ्नै डिफेन्स लाइनबाट आएको लामो बललाई लिदै मेसुकेले दुई चितवन डिफेन्डरलाई पछाडी छोड्दै वान भर्सेस वानमा गोलकिपर रोमान रसाइलीलाई बिट गरेका थिए ।

बिराटनगर सिटी एफसीबिरुद्ध प्रतियोगिताकै पहिलो र एक मात्र ह्याट्रक गरेका मेसुकेको यो नेपाल सुपर लिगमा चौथो गोल हो ।

२० औं मिनेटमा चितवनले मौका गुमायो । जर्ज प्रिन्स कार्की बल लिएर बक्सा भित्र पुग्न सफल भएपनि शट प्रहार गर्न ढिलाई गर्दा चितवनले बराबरी गर्ने मौका गुमायो । ३३ औं मिनेटमा काठमाडौंले अग्रता दोब्बर पार्यो । बिश्वास श्रेष्ठले दिएको लामो बललाई चितवनको डिफेन्सले क्लियर गर्न चुकेपछि सन्जोगले बक्सबाट राम्रो प्लेस गर्दै गोल गरेका थिए ।

चितवनल ४० औं मिनेटमा खेलमा फर्किएको थियो । शिशिर लेखीले निकालेको बललाई सुनिल श्रेष्ठले डिफेन्सको चुनौतिमा पनि नियन्त्रणमा लिदै गरेको प्रहार काठमाडौंको दोश्रो रोजाइका गोलकिपर दिनेश श्रेष्ठले बचाएपनि रिबाउण्डमा राजिभ लोप्चनले पावरफुल भलिमा सुन्दर गोल गरेका थिए ।

लगत्तै शिशिरकै सुन्दर क्रसमा जर्ज प्रिन्सले बक्स भित्रबाट खराब प्रहार गर्दै अवसर खेर फालेका थिए । ४४ औं मिनेटमा बिश्वासको घुमाउरो फ्रि–किक बारमा लागेर फर्किएको थियो ।

Click to comment

Trending