Headline

अन्जनको २ गोल, एक असिस्टमा ललितपुर प्ले अफमा

Published

on

अन्जन बिष्टले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोलसहित अर्को गोलमा असिस्ट गरेपछि ललितपुर सिटी एफसी प्रतियोगितामा सनसनीपूर्ण पुनरागमन गर्दै नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ ।

निकै तनावपूर्ण खेलमा अन्जनले पहिलो हाफमा एक गोल गर्नुका साथै दोश्रो हाफमा एक असिस्ट र अर्को गोल थप्दै बिराटनगर सिटी एफसीमाथि ४–० फराकिलो जित दिलाउदै ललितपुरलाई प्ले अफसम्म डोर्याए । जितपछि ललितपुर ९ अंकसहित तेश्रो स्थानमा लिग चरण समाप्त गर्यो ।

हारपछि उत्कृष्ट देखिएको बिराटनगरको टोली भने बाहिरिएको छ । बिराटनगरको ७ अंक रह्यो । धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच दिनको दोश्रो खेलले प्लेअफ पुग्ने अन्तिम टोलीको निक्र्यौल गर्नेछ । धनगढी यसअघि नै प्लेअफमा पुगिसकेको छ भने बुटवललाई जितको आवश्यकता रहेको छ ।

शनिबारको पहिलो खेलमा बिराटनगरले रेफ्रिको निर्णय प्रति असन्तुष्टि जनाउदै खेल बहिष्कार गर्ने निर्णय लिँदै आफ्नो खेलाडीहरु फिर्ता बोलाउदा तनाव उत्पन्न भएको थियो । ५२ औं मिनेटमा सुनिल बल बक्स भित्र लड्दा बिराटनगरको अफिसियलहरु टच लाईनमा असन्तुष्ट जनाउदै आक्रमक रुपमा प्रस्तुत भएका थिए ।

६२ औं मिनेटमा अन्जनको असिस्टमा बिमल रानाले गोल गरे लगत्तै बिराटनगरले आफ्नो खेलाडीहरुलाई फिर्ता बोलाएको थियो । यसले गर्दा खेल ७ मिनेट रोक्किएको थियो । आयोजक र एन्फा अधिकारीहरुको लामो कसरत पछि बिराटनगरले खेलाडीहरुलाई मैदान फर्काएको थियो । अन्तिम २० मिनेट बिजय धिमाल दोहोरो पहेलो कार्ड पाउदै मैदान बाहिरिएपछि बिराटनगर १० खेलाडीमा सिमित भएको थियो ।

खेल बहिष्कार गर्दै मैदान छोडेपछि बिराटनगरको बेञ्च

खेलको मुख्य आकर्षण भने अन्जन बिष्ट रहे । यसअघि धनगढीबिरुद्ध पेनाल्टी मिस गरेका अन्जनले शनिबार ३५ औं मिनेटमा सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए । लगातार दवाब बनाइरहदा कमल श्रेष्ठले प्रहार गरेको फ्रि–किकमा दर्शनीय डाइभिङ सेभ गर्दै बिराटनगरका गोलकिपर किशोर गिरिले कर्नरका लागि पठाएका थिए । किशारले कर्नरमा नुर्लानले नजिकैबाट दिएको टचलाई रोकपनि रिबाउण्डमा अञ्जनले साइड भलिमा बललाई केही अगाडी ड्रप गराउदै गोल गरेका थिए ।

५७ औं मिनेटमा बिराटनगरले लगातार दवाब बनाउदै गर्दा सुनिल बलको कर्नरमा मनिष डाँगीको फ्रेममै रहेको हेडरलाई अर्पण कार्कीले मुस्किलले बचाएका थिए ।

६३ ओं मिनेटमा अन्जनले काउन्टर अट्याकमा राम्रो दौड लगाउदै निकालेको क्रसमा बिमल रानाले खाली पोस्टमा गोल गरेका थिए । ८१ औं मिनेटमा कमल श्रेष्ठको फ्रि–किकमा अन्जनले फ्रि–हेडरमा निकै सुन्दर गोल गरेका थिए । ९३ औं मिनेटमा नुर्लानले अर्को गोल गर्दै ललितपुरको जित फराकिलो बनाएका थिए ।

Click to comment

Trending