Headline

ला लिगाको निर्णायक खेलमा बार्सा र एट्लेटिको भिड्दै

Published

on

स्पेनिस ला लिगाको निर्णायक सप्ताहन्त हुन सक्ने समयमा शनिबार बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्न गइरहेका छन् । आइतबारको खेलमा रियल म्याड्रिड र चौथो स्थानको सेभिया खेल्नेछन् ।

जनवरीमा एट्लेटिकोसँग १३ अंकले पछि परेको बार्सिलोनाले शनिबार जित हात पार्ने हो भने हाल एट्लेटिकोलाई एक अंकले पछि पार्दै शिर्ष स्थानमा उक्लनेछ । तर आइतबार सेभियालाई पराजित गर्ने हो भने रियल राम्रो हेड टु हेड नतिजाका आधारमा शिर्ष स्थानमा रहनेछ ।

ला लिगामा सिजनको शुरुवातमा बिशाल अग्रता लिदै सहज उपाधि यात्रा तय गर्ने देखिएको एट्लेटिकोसँग रियल र बार्सिलोना मात्र दुई अंकको दुरीमा छन् । युरोपा लिग च्याम्पियन सेभिया ६ अंक पछाडी छ ।

‘अहिले जहाँ छौ त्यसको कल्पाना पनि थिएन’

म्याच अफिसियलमाथि अपशब्द प्रयोग गरेका कारण दुई म्याचको टचलाइन ब्यान खेपेका बार्सिालोना प्रशिक्षक रोनाल्ड कोमन शनिबार एट्लेटिको बिरुद्ध खेलमा बेञ्चमा हुने छैनन् । कोमनले सिजनको मध्यतिर आफ्नो टोलीले ला लिगा उपाधि जित्ने अवस्थामै नरहेको बताएका थिए ।

तर २०२१ लागेपछि बार्सिलोनाले १९ मध्ये १६ खेल जित्दै आफूलाई अनपेक्षित रुपले उपाधि दौडमा उभ्याएको थियो । ला लिगामा अब कुल चार खेल बाँकी छ तर शनिबार र आइतबारका खेलहरु निर्णायक बन्न सक्छन् ।

“मलाई थाहा छैन यो खेलको परिणाम महत्पूर्ण हुन्छ कि हुँदैन तर महत्वपूर्ण भने अवश्य छ,” कोमनले भने ।

“हामी लिग उपाधिका लागि दुई अन्य टोलीसँग भिडिरहेका छौं । केही महिना अगाडी हामी यो स्थितिमा आइपुग्ने छौं भनेर कल्पना समेत गर्न सक्दैन थियौं । च्याम्पियन बन्नका लागि हामीलाई हरेक खेल जित्न आवश्यक छ । हामीले सबै खेल जित्ने हो भने हामी च्याम्पियन बन्न सक्छौं,” कोमन भन्छन् ।

एट्लेटिको क्याम्प नोउमा आउदा पछिल्लो ६ खेलमा तीनमा जित हात पारेको टिमको रुपमा हुनेछ । उतार चढावपूर्ण ला लिगामा यो राम्रै फर्मको रुपमा हेरिएको छ । आफू प्रशिक्षक भएयता बार्सिलोनालाई उसकै घरमा हराउन असफल रहेको एट्लेटिको प्रशिक्षक डिएगो सिमिओने शनिबारका लागि बिशेष योजना नरहेको बताउछन् ।

“हामी यो सिजन स्पष्ट आइडिया लिएरै खेलिरहेका छौं । हामी धेरै परिवर्तन गर्ने टोलीमा पर्दैनौं । सिजनको शरुवातमा जस्तो प्रदर्शन गरेको थियो त्यसलाई बार्सिलोनाले पछाडी छोडिसकेको छ । यो खेललाई हामीले अन्य खेल सरह नै खेल्नेछौं,” सिमिओनेले भने ।

Click to comment

Trending