Headline

धनगढी भर्सेस पोखराः शिर्ष स्थानको लागि भिडन्त

Published

on

नेपाल सुपर लिग पाचौं चरणमा प्रवेश गर्दा बुधबार दशरथ रँगशालामा धनगढी एफसी र पोखरा थण्डर्स खेल्न गइरहेका छन् ।

दिनको एक मात्र खेलमा जुन टिमले जित्यो उ अंक तालिकाको शिर्ष स्थानमा पुग्नेछ । अंक तालिकामा हाल बिराटनगर सिटी एफसी हेड–टु–हेड र गोल अन्तरको आधारमा शिर्ष स्थानमा रहेको छ । दोश्रो स्थानको धनगढी र तेश्रोमा रहेको काठमाडौं रेजर्सको पनि समान सात अंक छ ।

पोखरा पाँच अंक सहित पाचौं स्थानमा रहेको छ । बुटवलको अपराजित यात्रालाई फितलो प्रदर्शन गर्दै आइरहेको काठमाडौले मङ्गलवार समाप्त पार्दा कुनै पनि टोली प्रतियोगिता स्पष्ट रुपमा प्रबल दाबेदार हुन सकेका छैनन् ।

तर धनगढीले पहिलो खेलमा पराजय व्यहोरेपछि समातेको लय तारिफयोग्य छ । पहिलो खेलमा बिराटनगरसँग ३–० ले पराजित भएको धनगढीले अन्य दुई खेलमा काठमाडौं र चितवनलाई समान ३–० गोल अन्तरले पराजित गरेको थियो ।

ललितपुर सिटी एफसीसँग १–१ को बराबरी खेलेको धनगढीको अग्रपंक्ति बिदेशी खेलाडी ओलादिपो ओलावाले अफिजको वरिपरि घुम्ने निश्चित छ । नेपालको घरेलु फुटबलमा प्रशस्त अनुभव बटुलिसकेका ओलावाले बिराटनगरका सन्तोष तामाङसँगै ३ गोलका साथ प्रतियोगिताको सर्वाधिक गोलकर्ताको रुपमा रहेका छन् ।

राष्ट्रिय टोलीका कप्तान तथा नेपाल नम्बर वान गोलकिपर किरण चेम्जोङको साथ पाएको धनगढीलाई ओलावालेसँग राम्रो संयोजन गर्न सक्नुपर्ने नै प्रमुख चुनौति हो । अघिल्लो खेलमा पुजन उपरकोटी, बिशाल राइ र निशान लिम्बुले उल्लेखनीय प्रदर्शन गर्दा धनगढीको जित सहज भएको थियो । त्यही किसिमको प्रदर्शन धनगढीका नाइजेरियन प्रशिक्षक फुजा टोपेले खोज्ने छन् ।

पोखरा पहिलो खेलमा बुटवल लुम्बिनी एफसीसँग पराजित भएपनि त्यसपछि भने हार्नु परेको छैन । दोश्रो खेलमा बिराटनगरलाई १–० ले स्तब्ध पारेको पोखराले चितवन र काठमाडौंसँग बराबरी खेलेको थियो ।

पोखराका मार्की खेलाडी नवयुग श्रेष्ठ छन् । तर उनले हालसम्म एक मात्र गोल गर्न सकेका छन् । रवि पासवान, बिदेशी खेलाडी मौसा सहितको पोखराको अग्रपंक्ति सोचे अनुरुपको हुन सकेको छैन । पोखरा टिमले नै चार खेलमा जम्मा एक गोल मात्र गरेको छ।

Click to comment

Trending