Headline

बक्स बाहिरका बादशाह

Published

on

सन्तोष तामाङले एक पटक फेरि लोभ लाग्दो गोल गरे । सोमबार नेपाल सुपर लिग अन्तर्गत एफसी चितवनबिरुद्ध बिराटनगरका लागि उनले गरेको गोल ‘वल्र्ड क्लास’ थियो ।

केही मिनेट अगाडी पेद्रो मान्जीले पनि बिश्वस्तरीय गोल गरेका थिए । सुनिल बलको फ्रि–किकलाई ‘चेस्ट कन्ट्रोल’ गर्दै बायाँ खुट्टाले आर्कबाट प्रहार गरेको हाफ भली निकै हेर्न लायक थियो । तर सन्तोषले ८९ औँ मिनेटमा गरेको प्रहारले मान्जीलाई नै छाँयामा पारिदियो ।

रन्जित धिमालले प्रहार गरेको फ्रि–किकमा बल बाहिर जानै लाग्दा मनिष डाँगीले हेड गर्दै पेनाल्टी एरियामा पुर्याएपछि चितवनले क्लियर गर्न नसक्दा सन्तोषको खुट्टामा बल पुग्यो । उनले अगाडि रहेका दुई बिपक्षी खेलाडीलाई ड्रिबल गर्दै बक्स बाहिरबाट आकर्षक प्रहार गरे ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका गोलकिपर बिशाल सुनारसँग सन्तोषको घुमाउरो प्रहारको कुनै जवाफै थिएन ।

गत चैत १६ मा सम्पन्न थ्री नेसन्स कपमा नेपाली राष्ट्रिय टोलीले बक्स बाहिरबाट यस्तो गोल गर्ने त धेरै परको कुरा हो, प्रयास गरेको समेत देखिएको थिएन ।

सन्तोषले भने पहिलो पटक यस्तो गोल गरेका होइनन् ।

नेपाली फुटबलको उच्च स्तरको प्रतिस्पर्धामा सन्तोषले चार बिश्वस्तरीय गोल गरिसकेका छन्, ती मध्ये तीन पछिल्लो एक महिनामै भएको छ ।

दुई नेपाल सुपर लिगमा र अर्को त्रिभुवन आर्मी फुटबल क्लबका लागि श्रीलंका पुलिस स्पोर्टिङ्ग क्लबबिरुद्ध एएफसी कपको छनौटमा ।

४५ दिनको प्रतिबन्धपछि २०७६ सालको ए डिभिजन लिगमा थ्री स्टार विरुद्ध गरेको लोभ लाग्दो फ्रि–किक गोलमार्फत उनले आफ्नो उत्कृष्ट पुनरागमन हुन गइरहेको सन्देश दिएका थिए ।

चार फोक्सो भएका सन्तोष

नेपाली फुटबलमा अट्याकिङ मिडफिल्डर कमै देखिन्छन् । स्ट्राइकर भन्दा पनि राम्रो फिनिसिङ भएका खेलाडी पाउन झनै गाह्रो छ । सन्तोष बिरलै पाइने प्रतिभा हुन् ।

सन्तोषको विशेषता पनि ’लङ रेन्जर्स’ (लामो दुरीको प्रहार) नै हो । उनी हरेक खेलमा गोल र गोलका लागि आवश्यक मुभ बनाउन प्रयासरत हुन्छन् । त्यही कारण पनि बिराटनगरका भारतीय प्रशिक्षक यान ल उनलाई हरेक खेलमा शुरुवात देखि अन्त्यसम्म खेलाउदै आइरहेका छन् ।

“अरु खेलाडीको दुई वटा फोक्सो होला, सन्तोषको चार वटा छ जस्तो लाग्छ मलाई,” यानले सन्तोषको तारिफ गर्दै भने । “उनी रणनैतिक हिसाबले पनि अनुशासित खेलाडी हुन् । उनलाई खेल कसरी नियन्त्रणमा लिने सबै कुराको ज्ञान छ । उनी गोलका लागि लामो प्रहारहरु गर्छन्, जुन एक मिडफिल्डरका रुपमा बोनस पनि हो,” उनले थपे ।

“सन्तोषको यो खुबी धेरै खेलाडीहरुसँग हुदैन । उनी दक्षिण एसिया बाहेकका लिगहरु पनि खेल्न सक्षम छन्।”

दर्शक र फुटबल समर्थलाई चितवनबिरुद्धको गोल बिश्वस्तरीय लागे पनि उनी अझै अर्कै गोलको आनन्द उठाइरहेका छन् । “करिअरमा धेरै मिहिनत गरियो, राम्रो गोल गरियो तर सोमबारको भन्दा पनि किरण दाईलाई हानेको गोल चाँही आँफैलाई बबाल लाग्यो,” सन्तोषले भने ।

सुपर लिगको दोस्रो दिन धनगढी एफसी र बिराटनगर खेल्दा धेरैले धनगढीले खेल जित्ने दाबी गरे । कागजमा धनगढी निकै बलियो देखियो तर त्यो दिन अनपेक्षित रुपमा सन्तोषको नाममा रह्यो । उनले उक्त म्याचमा एक असिस्ट र अर्को उत्कृष्ट गोल गरेका थिए ।

सुनिल बलसँगको वान टु पासमा पेनाल्टी बक्स भित्र उनले लिएको टर्न आँखालाई नै आनन्द आउने किसिमको थियो । नेपाल नम्बर वान गोलकिपर किरण चेमजोङलाई बिट गर्दै उनले शान्दार टिम मुभलाई सही ढँगले फिनिसिङ्ग दिएका थिए ।

सन्तोष नेपाल सुपर लिगमा धनगढीका बिदेशी खेलाडी ओलादिपो ओलावाले अफिजको चार गोललाई सन्तोष तीन गोलका शिर्ष गोलकर्ताको हुन पछ्याइरहेका छन् ।

राष्ट्रिय टोलीको प्रतिक्षा

दशरथ रँगशालामै श्रीलंकन पुलिसबिरुद्ध चैत्र २५ मा उनले गरेको गोलले उनी कसरी थ्री नेसन्स कपको टोलीमा अटाएनन् भनेर जवाफ मागिरहेको थियो । कर्नरबाट आएको बललाई श्रीलंकन टिमले क्लियर गर्ने प्रयास गरिरहदा पाएको बललाई उनले पेनाल्टी बक्स बाहिरबाट सशक्त भलि प्रहार गर्दै दर्शनीय गोल गरेका थिए ।

एक गोलले पछाडी परेको आर्मीलाई सन्तोषको गोलले यस्तो उर्जा दियो की त्यसले बिभागीय टोलीको बडी ल्याङ्गवेज नै परिणत गरिदियो । आर्मी पूर्ण रुपमा हावी हुँदै खेल ५–१ को फराकिलो अन्तरले जित्न सफल रह्यो ।

सुपर लिगमा सन्तोषले आफ्नो यसअघिका गोलहरु फ्लुक नरहेको साबित गर्दै आइरहेका छन् । उनका गोलहरु कसरी एक समानको हुँदै आएका छन् ?

“मलाई हाम्रा प्रशिक्षक (यान ल) ले त राम्रो शट हान्न सक्छस भन्दै बक्स बहिरबाट प्रयास गर्न निदेर्शन दिदै आएका छन् । मैले सटहरु लिए, गोल पनि भयो, खुशी छु,” उनले भने ।

झण्डै दुई बर्ष अगाडी नाइट क्लब काण्डमा मुछिएपछि ४५ दिनको प्रतिबन्ध खेपेका सन्तोषले नेपालमै भएको दक्षिण एसियाली खेलकुदसँगै अन्य केही महत्वपूर्ण खेलहरु गुमाउन पुगेका थिए । उनीमा आफूलाई साबित गर्ने इख पनि छ र गर्दै पनि आएका छन् ।

ए डिभिजन लिग मार्फत पुनरागमन गरेका सन्तोष राष्ट्रिय टोलीमा भने स्थान बनाउन असफल हुदै आइरहेका छन् । तर सुपर लिगमा खेलिरहदा उनलाई यी सबै कुराले सताएको देखिदैन ।

“मेरो लक्ष्य एउटै छ । म मिहिनेत गर्नबाट पछि हट्ने छैन । मिहिनेत गरेपछि भगवानले पनि हेर्छन्,” उनले भने ।

नेपाललाई अट्याकिङ फुटबल खेलाउने बताउदै आएका उत्साहित नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अल्मुतइरीले नेपाल सुपर लिगको एक खेल पनि छोडेका छैनन् । सन्तोषले सृजना गर्ने आक्रमक मुभ र  उनका गोलका बारे अब्दुल्लाहलाई राम्ररी ज्ञान छ ।

मे महिना देखि अब्दुल्लाहले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण बोलाउदैछन् । सन्तोष अब्दुल्लाहको क्यम्पमा निकै नजिक हुन सक्छन् ।

1 Comment

Trending