Headline

करिअरको अन्त्यमा आउदा रोनाल्डो र मेस्सीको दबदबा अझै उस्तै

Published

on

युरोपमा बिश्व फुटबलका दुई सुपरस्टार लियोनल मेस्सी र क्रिष्चियानो रोनाल्डोले आइतबार आ–आफ्नो क्लबका लागि समान २–२ गोल गर्दा बार्सिलोना र युभेन्टसले महत्वपूर्ण जित हात पारेका छन् ।

मेस्सीको दुई गोलको मद्दतमा बार्सिलोनाले भ्यालेन्सियालाई ३–२ ले पराजित गर्यो । अवे खेलमा हात पारेको जित बार्साका लागि किन पनि महत्वपूर्ण रह्यो भने यसले क्याटलन क्लबलाई उपाधिको दौडमा कायमै राख्न मद्दत गरेको छ ।

मात्र चार खेल बाकी रहदा बार्सिलोना शिर्ष स्थानको एट्लेटिको म्याड्रिड भन्दा मात्र दुई अंकले पछाडी रहेको छ भने हेड टु हेडका आधारमा रियल म्याड्रिडसँग पछि परेको छ । एट्लेटिकोको ७६ अंक छ ।

मेस्टाला स्टेडियममा भ्यालेन्सियालाई दोश्रो हाफ शुरु भएको पाँच मिनेटपछि ग्याब्रियलले अग्रता दिलाएका थिए । बार्साले पाएको पेनाल्टीमा मेस्सी चुकेपनि उनले रिबाउण्डमा गोल गर्दै खेललाई बराबर गरेका थिए । ६३ औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गरे भने मेस्सीले ६ मिनेटपछि तेश्रो गोल गरेका थिए ।

कार्लोस सोलरले ८३ औं मिनेटमा गोल फर्काए पनि बार्सिलोनाले त्यसपछि भने गोल गर्न दिएन । बार्सा र एट्लेटिको म्याड्रिडले शनिबार नोउ क्याम्पमा खेल्नेछन् र यो खेल सिजनकै सबैभन्दा महत्वपूर्ण खेल बन्न सक्छ ।

इटालीमा आफ्नो ९ बर्षदेखि राज अन्त्य भएको दिन रोनाल्डोले अन्तिम समयमा दुई गोल गर्दै युभेन्टसलाई युडिनेजीसँग हारबाट बचाएका थिए । यो सिजन उपाधि हातबाट फुस्किसक्दा युभेन्टसको लागि सिजनका अन्तिम पाँच खेलले ठूलो महत्व बोकेको छ ।

पाचौं स्थानमा रहदै च्याम्पियन्स लिगमा छनोट हुनबाट बञ्चित हुने खतरामा रहेको युभेन्टस तेश्रोमा उक्लिएको छ । एटलान्टा, युभेन्टस र एसि मिलानको समान ६९ अंक रहेको छ । ३४ खेलबाट इन्टर मिलानले आइतबार राति नै ११ बर्षपछि आफ्नो पहिलो सिरी आ उपाधि पक्का गरेको थियो ।

घरेलु मैदानमा नाहुवेल मोलिनाले १० औं मिनेटमै युडिनेजीलाई अग्रता दिलाएका थिए । यो सिजन निकै प्रतिस्पर्धात्म बन्दा आफ्नो प्रदर्शनलाई उकास्न नसकेको युभेन्टस अर्को हारको नजिक रहेको थियो । तर रोनाल्डो ८४ औं मिनेटमा पेनाल्टी र ८९ औं मिनेटमा ओपन प्लेमा गोल गर्दै युभेन्टसलाई जोगाए ।

करिअरको अन्त्यतिर आइसक्दा ३३ बर्षिय मेस्सी र ३६ बर्षिय रोनाल्डोको दबदबा बिश्वका दुई कठिन लिगहरुमा अझै पनि उस्तै छ । यो सिजनको चार खेल गुमाएका रोनाल्डो २७ गोल गर्दै सिरी आ को सर्वाधिक गोलकर्ता हुन् । उनी इन्टर मिलानका रोमेलु लुकाकुभन्दा ६ गोलले अगाडी छन् ।

मेस्सीले त अझै ६ खेल गुमाएका छन् । उनले २८ गोल गरेका छन् र दोश्रो स्थानमा रहेका रियल म्याड्रिका करिम बेञ्जेमा भन्दा ७ गोलले अघि रहेका छन् । लिगका अन्य खेलाडीहरुले कमाल नगर्ने हो भने एक पटक फेरि रोनाल्डो र मेस्सी नै आ–आफ्नो लिगमा सर्वाधिक गोलकर्ताको रुपमा रहने निश्चित छ ।

1 Comment

Trending