Headline

युभेन्टसको ९ बर्षदेखिको साम्राज्यको अन्त्य, इन्टर आइतबार नै इटालीको नयाँ च्याम्पियन बन्न सक्ने

Published

on

युभेन्टसको इटालीमा ९ बर्षदेखिको राज समाप्त भइसक्दा इन्टर मिलान आइतबार नै ११ बर्षमा पहिलो पटक इटालियन सिरी आ को च्याम्पियन बन्न सक्ने भएको छ ।

क्रिष्चियन एरिक्सेन र असरफ हकिमीले गोल गरेपछि इन्टर क्रोटोनेलाई २–० ले हराउदै शनिबार अंक तालिकामा १३ अंकको फराकिलो अग्रता लिन सफल भएको छ । इन्टरको शहरी प्रतिद्वन्दी एसि मिलानसँगै, नापोली र युभेन्टस उपाधि होडबाट बाहिरिएको छ भने अब उसलाई गणितीय आधारमा रोक्न सक्ने एक मात्र टोली एटलान्टा रहेको छ ।

आइतबार एटलान्टा सासुलोलाई पराजित गर्न नसक्ने हो भने इन्टर अर्को खेल नै नखेली च्याम्पियन बन्न सक्नेछ । एटलान्टाले जित्ने हो भने इन्टरलाई बाँकी रहेको चार खेलबाट तीन अंक जोडे पर्याप्त हुनेछ ।

समान ३४ खेलमा इन्टरको ८२ र एसि मिलानको ६९ अंक छ भने ३३ खेलपछि एटलान्टाको ६८, नापोलीको ६६ र युभेन्टसको ६५ अंक छ । क्रिष्चियानो रोनाल्डोको युभेन्टसलाई अब इटालीबाट च्याम्पियन्स लिगका लागि छनोट हुन समेत धेरै कसर गर्नु पर्ने भएको छ ।

“हामी ९ बर्षदेखि स्थापित साम्राज्यलाई ढाल्न सफल हुन गइरहेका छौं,” इन्टर प्रशिक्षक एन्टोनियो कोन्टेले लगातार ९ सिजन च्याम्पियन बनेको युभेन्टसको सफलतातर्फ इँगित गर्दै भने । युभेन्टसले जितेका ९ उपाधिहरुमध्ये पहिलो तीन कान्टेले नै दिलाएका थिए ।

पछिल्लो ११ बर्षदेखि घरेलु फुटबलको उपाधि नजितेको इन्टर केही अतुलनीय उपलब्धि हासिल गर्न गइरहेको हामी सबैलाई राम्ररी ज्ञान छ । केटाहरु यसको हकदार हुन् । हामी इतिहास बनाउन मात्र एक कदम पर छौं, कोन्टेले थपे ।

१८ औं स्थानको बेनेभेन्टोलाई २–० ले हराउदा एसि मिलानका लागि स्विडिस लेजेण्ड ज्लाटन इब्राहिमोभिचले पुनरागमन गरेका थिए । ज्लाटन फर्किएसँगै मिलान पाचौं बाट दोश्रो स्थानमा उक्लिएको हो ।

Click to comment

Trending