Headline

नेपाल सुपर लिगः काठमाडौं र पोखराबीच गोलरहित बराबरी

Published

on

काठमाडौं रेजर्स र पोखरा थण्डर्सले नेपाल सुपर लिगमा पहिलो गोलरहित बराबरी खेलेका छन् ।

झम–झम बर्षाका कारण खेल्न केही कठिन देखिएको दशरथ रँगशालामा पहिलो हाफमा पोखरा र दोश्रो हाफमा काठमाडौंले दवाब बनाए पनि गोल हुन सकेको थिएन । यो परिणाम पछि दुवै टोलीको चार अंक भएको छ भने समान अंक रहेका दोश्रो स्थानको धनगढीभन्दा पछाडी रहेका छन् ।

गोल अन्तरको आधारमा पोखरा तेश्रो र काठमाडौं चौथो स्थानमा रहेको छ भने एक खेल कम खेलेको बिराटनगर सिटी एफसी तीन अंकले पाचौं स्थानमा झरेको छ । दुई खेल खेलेको बुटवल लुम्बिनी सिटी एफसी पहिलो स्थानमै रहेको छ ।

पोखराका लागि ११ औं मिनेटमा रवि पासवानले द्रुत गति लिदै थ्रो इनका लागि गएको बल तान्दै बक्स भित्र दिएको सटिक पासमा नवयुग श्रेष्ठ र आयुष घलानले कनेक्ट गर्न सकेनन् ।

२१ औं मिनेटमा काठमाडौं गोलकिपर बिकेश कुथुले टिमलाई निश्चित गोल खानबाट बचाएका थिए । रक्षापंिक्तले गल्ति गर्दा मौसा बिकेशसँग वान–भर्सेस–वान स्थितिमा पुगेका थिए तर त्रिभुवन आर्मी गोलकिपरले राम्रो निर्णय लिदै बल क्लियर गरिदिएका थिए ।

लगत्तै बिकेशले गल्ति गर्दै पोखराका नवयुगलाई बल सुम्पिए तर आर्मी फर्वार्डको खाली पोस्टमा चिप निकै फितलो रहन पुग्यो ।

३४ औं मिनेटमा आफ्नै मिडफिल्डबाट आएको लामो पास कलेक्ट गरेका रविले आफै प्रहार गर्नु पर्ने स्थितिमा पास दिदा मौका खेर गएको थियो । काठमाडौंले एकाध मुभ बनाएपनि कुनै पनि समय पनि पोखराको लागि खतराको घण्टी बजाउन सकेन ।

दोश्रो हाफमा दुवै टोलीले थोरै मुभ बनाउदा पेनाल्टी बक्सबाट ठ्याक्कै बाहिर पाएको फ्रि किकमा मेसुकेको प्रहार थोरैले मात्र बारभन्दा माथि गएको थियो । ८० औं मिनेटमा मेसुकेले अर्को सुनौलो मौका खेर फाले ।

डि बक्सभित्र आएको बलमा गोलकिपर दिप कार्की बिट भइसकेको अवस्थामा मेसुकेले खाली पोस्टमा समेत गोल गर्न चुकेका थिए । ८७ औं मिनेटमा अनमार्क रहेका सञ्जोग राईले पोस्ट नजिकै बाट फितलो प्रहार गर्दा काठमाडौं निरन्तर चुकेको थियो ।

दोश्रो हाफको एक मात्र उल्लेखनीय मुभमा प्रविण स्याङ्गतानले अन्तिम मिनेटमा फ्रि–किकबाट आएको बलमा फ्लिक–हेडरमार्फत गोल गरे तर उनी अफसाइड रहेका थिए ।

Click to comment

Trending