Headline

बुटवल र चितवनबीचको खेलमा रोमाञ्चक बराबरी

Published

on

बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिगको अहिलेसम्म कै रोमाञ्चक खेलमा उत्कृष्ट पुनरागमन गर्दै एफसी चितवनलाई २–२ गोलको बराबरीमा रोकेको छ ।

दशरथ रँगशालामा भएको पहिलो खेलमा चितवनका लागि अक्सनमा अनसोल्ड रहेका जर्ज प्रिन्स कार्की र टेक बहादुर बुढाथोकीले गोल गरेका थिए । तर आशिष लामाले पहिलो हाफमै गोल फर्कादा दोश्रो हाफमा लक्ष्मण रुचालले बराबरी गरेका थिए ।

लिगमा बुटवल चार अंकका साथ शिर्ष स्थानमा पुगेको छ । चितवनले लगातार दुई बराबरी खेलेको हो । बुटवलले शुरु देखि नै खेलमा आफ्नो नियन्त्रणमा राखेको थियो । लक्ष्मण रुचालले निकालेको असिस्टमा अर्माण्डको हेडर बाहिरिएको थियो । सातौं मिनेटमा करिम नुरेनले बक्स बाहिरबाट गरेको थोरैले मात्र क्रसबार माथि गएको थियो ।

१५ औं मिनेटमा गोरान जेर्कोभिचले पोस्ट अगाडी नै निकालेको क्रसमा जर्ज प्रिन्सले सहज ट्याप इन गर्दै चितवनलाई अग्रता दिलाएको थियो । १९ ओं मिनेटमा सिमान्त थापाले दायाँबाट निकालेको क्रसमा बुटवलका गोलकिपर बिशाल श्रेष्ठको पञ्जामा लागेर फुत्किएपछि टेक बहादुर बुढाथोकीले नियन्त्रणमा लिदै नजिकबाटै गोल गरेका थिए ।

बुटवलले त्यसपछि दुई वटा गोल गर्ने मौका गुमाएको थियो । लक्ष्मण रुचालको क्रसमा अर्माण्डले प्लेस गरेको हेडरलाई चितवनका गोलकिपर बिशाल सुनारले सन्दर बचाउ गरेका थिए । त्यसपछि अमिर श्रेष्ठको क्रसमा बक्सभित्र बल पाएका अर्माण्डले गरेको प्रहार बारमा लागेर फर्किएको थियो ।

३१ औं मिनेटमा करिम नुरेनले दिएको बल अर्माण्डले वान टचमा आशिषका लागि सेट गर्दा बुटवल फर्वार्ड पेनाल्टी एरियाबाहिरको आर्कबाट सशक्त प्रहार गर्दै उत्कृष्ट गोल गरेका थिए ।

दोश्रो हाफमा पूर्ण रुपमा बुटवलले चितवनलाई निरन्तर दवामा राख्यो र यसको फल ६५ औं मिनेटमा प्राप्त गर्यो । राष्ट्रिय टोलीबाट भर्खरै सन्यास लिएका बिराज महर्जनले निकालेको बलमा गोलकिपर र डिफेन्डर बिट हुँदा लक्ष्मण रुचालले खाली पोस्टमा गोल हानेका थिए ।

६८ औं मिनेटमा रुप बहादुर लामाले गरेको सशक्त प्रहारलाई बिशालले उत्कृष्ट ढँगले बचाएका थिए । बिशाल सुनारले ८४ औं मिनेटमा करिमले नजिकैबाट गरेको हेडरलाई समात्दै बुटवलको शत प्रतिशत गोल बचाएका थिए । दोश्रो हाफको अन्त्यतिर दुवै टोलीबाट गोल थप्ने प्रशस्तै प्रयास भएपनि सफल हुन सकेको थिएन ।

Click to comment

Trending