Headline

पिएसजी भर्सेस म्यान सिटी: भिडन्त युरोपमा तर डर्बी अरबको

Published

on

वुधबार मध्यरात च्याम्पियन्स लिग सेमिफाइनलमा पेरिस सेन्ट जर्माइन (पिएसजी) ले म्यानचेस्टर सिटी विरुद्ध खेल्दा यो खेलको महत्व युरोपमा मात्रै सिमित रहेको छैन । इङ्गलिस र फ्रेञ्च महारथीबीचको यो खेलले दुई खाडी राष्ट्र कतार र युएईको लागि पनि उत्तिकै महत्वपूर्ण छ ।

युएई र साउदी नेतृत्वमा रहेका देशहरूले कतारलाई तीन वर्षको नाकाबन्दी लगाए पछि झनै चिसिरहेको सम्बन्धका कारण पनि यो खेललाई युरोपियन प्रतियोगिताको अरब डर्बी बन्दा फरक नपर्ला । कतारको स्वामित्वमा रहेको पिएसजी र अरब मुलुकहरुको बहुमतले समर्थन पाएको म्यान सिटीबीच यो पहिलो भिडन्तलाई युरोपियन फुटबल बिश्लेषकहरुले ’ओइल मनी डर्बी’ (तेल पैसा डर्बी) को उपनाम दिएका छन ।

तर किन ? कारण हो यि दुई टोलीले दुई अरबी शेखको आगमन पछि युरोपमा खर्च गरेको रकम । म्यानचेस्टर सिटीले मात्रै युएईका राजकुमार शेख मन्सुरले क्लब किने देखि खेलाडीमा मात्र १ दशमलव ३ बिलियन पाउन्ड खर्च गरेको छ ।

कतारी शेखले पिएसजीमा लगानी हाले देखि त झन उसले नेमारलाई मात्र २०१८ मा २ सय ५० मिलियन युरोमा क्लब भित्र्याएको थियो । अझै स्टार खेलाडीले भरिएको टोलीको तलब अझै बढी छ । २० वर्षिय किलियन एम्बाप्पेले मात्रै वर्षको २० मिलियन युरो तलब दिने गर्छन् ।

यस्तै यो खेललाई रोमान्चक बनाउने कुरा हो २०१७ मा युएईले साउदी अरबिया, इजिप्ट र बहराइनसँग मिलेर कतारमाथि लगाएको नाकाबन्दी । इरानको नजिक भएको र कट्टरपन्थी इस्लामी समूहहरूको समर्थन गरेको भन्दै कतारको विरोध गरेको युएईले आफ्नो देशबाट कतारी परिवारहरुलाई निकाला गर्नुका साथै विद्यार्थीहरूलाई फर्काइदिएको थियो ।

त्यस कारण पनि यो खेललाई युरोपको भिडन्त तर अरबको डर्बी भनिएको हो ।

दोस्रो सेमिफाइनलमा पिएसजी र सिटीका सबै स्टार खेलाडीहरु फिट छन् । क्लबलाई फाइनल पुग्ने दवाब त छ नै तर खेलाडीलाई त्यो भन्दा पनि आफ्नो क्लबको मालिकको देशवासीहरुलाई खुशी बनाउने जिम्मा पनि छ ।

तर, पिएसजीले भने सिटीलाई च्याम्पियन्स लिगमा हराउन सकेको छैन । तीन खेल खेल्दा दुईमा बराबरी र एकमा पराजित पिएसजीलाई यो पटक भने जित निकाल्ने मौका छ ।

यो खेल नेपाली समय अनुसार मध्यराती १२ः४५ बजे सुरु हुने छ ।

Click to comment

Trending