Headline

नेपाल सुपर लिगः बुटवललाई शिर्ष स्थानमा पकड जमाउने अवसर

Published

on

आफ्नो पहिलो दुई खेलमा जित हात पारेका बुटवल लुम्बिनी एफसी र बिराटनगर सिटी एफसी नेपालको सुपर लिगको दुई छुट्टा–छुट्टै खेलमा भिडिरहेका छन् । कुनै एक टोलीको पक्षमा नतिजा नआउने हो भने एक टोलीले अंक तालिकाको शिर्ष स्थानमा स्पष्ट अग्रता लिन सक्ने छन् ।

दिनको पहिलो खेलमा बुटवलले चितवन एफसीको सामना गर्दैछ । बुटवलले आफ्नो पहिलो खेलमा पोखरा थण्डर्सलाई २–० ले पराजित गरेको थियो तर उक्त खेलमा उसको प्रदर्शन भने औषत रहन पुग्यो ।

अजित भण्डारीको लागि घरेलु फुटबलमा खराब मध्ये एक दिनमा बुटवल भाग्यमानी साबित भएको थियो । अर्माण्ड बेडुमले गरेको फ्लिक हेडर अजितकै टाउकोमा लागेर पोस्टको दिशा लिन पुगेको थियो भने अमित श्रेष्ठले निकालेको क्रसलाई रोक्न खोज्दा अजितले आफ्नै पोस्टमा गोल गर्न पुगे ।

बुटवलको अग्रपंक्तिलाई एक पटक फेरि अर्माण्डकै भर हुनेछ । पहिलो खेलमा गोल गर्ने केही मौकामा पनि चुकेका अर्माण्ड चितवनबिरुद्ध लयमा आउन जरुरी छ । नेपाली फुटबलका राम्रा गोलकिपर मानिएका बिशाल श्रेष्ठ मार्की रहेको बुटवलका लागि अन्य दुई बिदेशी खेलाडी विलियम ओपोकु र नुरेन करिमको पनि प्रदर्शनले महत्व राख्नेछ ।

अघिल्लो खेलमा सब्स्टिच्युटको रुपमा प्रभाव जमाएका सुमन लामासँगै मिडफिल्डमा मोफसलमा उल्लेखनीय प्रदर्शन गर्दै आइरहेका अमिर बुटवलका लागि आशा लाग्दा खेलाडी हुन् । गत सिजनको ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता आशिष लामाले अर्माण्डलाई अग्रपंक्तिमा सघाउने छन् ।

चितवनलाई ललितपुरबिरुद्ध उसको पहिलो लिग खेलमा गोलकिपर बिशाल सुनारले उत्कृष्ट प्रदर्शन गर्दै जोगाएका थिए । प्रशिक्षक मेघराज केसीले बिशाल बाहेक अन्य कुनै पनि खेलाडीबाट सन्तुष्ट प्रदर्शन नभएको बताएका थिए ।

बुटवलबिरुद्ध जित निकाल्ने हो भने चितवनका लागि घरेलु फुटबलमा स्थापित नाम र बिदेशी सबै खेलाडीले उच्च श्रेणीको प्रदर्शन दिन आवश्यक छ । पहिलो खेलको शुरुवातमै एल सैयद सबान घाइते भएर मैदान छोड्दा चितवन दवाबमा आएको थियो । उसका लागि गोरन जेर्कोभिचले औषत प्रदर्शन गरेका थिए भने अर्का इजिप्सियन नुर्लान जाहिदको खेल पनि प्रभावकारी देखिएको थिएन ।

ललितपुरबिरुद्ध दोश्रो हाफमा चोट बोकेर निस्किएका कप्तान तथा मार्की खेलाडी भरत खवास, बिमल राना, अमित तामाङ र बिकास खवासबाट चितवनले बिशेष अपेक्षा लिनेछ ।

दोश्रो खेलमा बिराटनगर पोखरा थण्डर्सबिरुद्ध खेल्न गइरहेको छ । पहिलो खेलमा धनगढी एफसीलाई ३–० को फराकिलो अन्तरले पराजित गरेको बिराटनगर राम्रो लयमा देखिएको छ । बिदेशी खेलाडी मात्रै नभएर घरेलु फुटबलरहरुले पनि उसको लागि राम्रो प्रदर्शन दिएका छन् ।

धनगढीले प्रशस्त मौका बनाएर पनि गोल गर्न चुक्दा बिराटनगर थोरै अवसरमै गोल गरेको थियो । सन्तोष तामाङ पछिल्लो केही समय उत्कृष्ट लयमा रहेका छन् र उनको फर्म बिराटनगरका लागि महत्वपूर्ण रहनेछ ।

लिगमा अंक बिहिन रहने एक मात्र टोली हालसम्म पोखरा एक मात्र टोली हो । बलियो बिराटनगरबिरुद्ध अंक खोस्न पोखरालाई राम्रो कसरत गर्नु पर्ने देखिन्छ ।

Click to comment

Trending