Headline

नेपाल सुपर लिगः ओलावालेको उच्च प्रदर्शनमा धनगढीको उत्कृष्ट पुनरागमन

Published

on

ओलावाले ओलादिपो अफिजले आफ्नो उच्च खेल प्रदर्शन गरेपछि धनगढी एफसीले नेपाल सुपर लिगमा उत्कृष्ट पुनरागमन गर्दै काठमाडौं रेजर्समाथि ३–० को शान्दार जित हात पारेको छ ।

दशरथ रँगशालामा टंक बस्नेतको फ्लुक गोलबाट अग्रता लिएको धनगढीका लागि नेपालको घरेलु फुटबलमा सबैभन्दा सफल बिदेशी खेलाडीमध्येका एक ओलावालेले त्यसपछि दुई गोल थप्दै प्रतियोगितामा उत्कृष्ट पुनरागमन गराएका थिए ।

पहिलो खेलमा ओलावाले नचल्दा बिराटनगरसँग ३–० ले पराजित धनगढीले पहिलो हाफमा काठमाडौंलाई पूर्ण रुपमा दवाबमा राखेको थियो । दर्शन गुरुङले पहिलो केही मिनेटमै प्राप्त अवसरमा पोस्ट नजिकैबाट दिशाहीन फितलो प्रहार गरेका थिए ।

१२ औं मिनेटमा दर्शन अफ साइड ट्रयाप बिट गर्दै बिकेश कुथुसँग वान–भर्सेस–वानको स्थितिमा पुगेपनि काठमाडौं गोलकिपरले स्लाइड गर्दै बचाएका थिए । टंक बस्नेतले १९ औं मिनेटमा बायाँबाट निकालेको क्रस दोश्रो बारमा लाग्दै बिकेशको घुँडामा ठोक्किएर गोल हुन पुगेपछि काठमाडौं स्तब्ध भएको थियो ।

ओलावालेले चार मिनेटपछि काउन्टर अट्याकमा बनेको मुभमा व्यक्तिगत ड्रिब्लिङ्ग स्किल देखाउदै राम्रो प्लेसमेन्टे गर्दै गोल गरेका थिए । ३४ औं मिनेटमा ओलावालेलाई रुपेश केसीले लोभलाग्दो असिस्ट दिदै बिकेशसँग वान–भर्सेस–वानका लागि सेट गरेपनि बिकेशले फेरि पनि स्लाइड हान्दै जिउले प्रहार बचाएका थिए ।

अन्तिम मिनेटमा भएको पर्फेक्ट टिम मुभलाई ओलावालेले नै फिनिसिङ्ग दिएका थिए । अशोक खवासको थ्रु पासमा दर्शनले गोललाईन अगाडी निकालेको क्रसलाई ओलावलेले सहज ट्याप इन गर्दै गोल गरेका थिए ।

काठमाडौं पहिलो हाफमा निकै निरश प्रदर्शन गरेको थियो । स्टेफन समिरले पोस्ट नजिकैबाट गरेको गोललाई अफसाइड दिइएको थियो । दोश्रो हाफको शुरुवातमा काठमाडौं दुई पटक गोल गर्ने मौकामा चुकेको थियो । स्टेफनले पोस्ट नजिकैबाट गरेको प्रहार बाहिरिएको थियो भने लगत्तै एक मिनेटपछि सञ्जोग राइको सशक्त प्रहारलाई गोलकिपर किरण चेम्जोङले डाइभ गर्दै बचाएका थिए ।

६८ औं मिनेटमा रमेश दँगालले दोहोरो पहेलो कार्ड खादै मैदान छोडेपछि धनगढी १० जनामा सिमित भएको थियो । त्यसपछि काठमाडौंले खेल पूर्ण रुपमा नियन्त्रणमा लिएपनि गोल फर्काउन सकेन ।

Click to comment

Trending