Headline

ओलावाले चम्कदा धनगढीको काठमाडौंबिरुद्ध पहिलो हाफमै ३ गोल

Published

on

घरेलु फुटबलका अनुभवी बिदेशी खेलाडी ओलावाले ओलादिपो अफिजले दुई गोल गरेपछि धनगढी सिटी एफसीले काठमाडौं रेजर्सलाई पहिलो हाफमै तीन गोल हानेको छ ।

पहिलो हाफमा धनगढीले नै काठमाडौंलाई पूर्ण रुपमा दवाबमा राखेको छ । दर्शन गुरुङले पहिलो केही मिनेटमै प्राप्त अवसरमा पोस्ट नजिकैबाट दिशाहीन फितलो प्रहार गरेका थिए ।

१२ औं मिनेटमा दर्शन अफ साइड ट्रयाप बिट गर्दै गोलकिपरसँग वान–भर्सेस–वानको स्थितिमा पुगेपनि काठमाडौं किपर बिकेश कुथुले स्लाइड गर्दै बचाएका थिए ।

टंक बस्नेतले १९ औं मिनेटमा बायाँबाट निकालेको क्रस दोश्रो बारमा लाग्दै बिकेशको कुममा लाग्दै गोल हुन पुगेपछि काठमाडौं स्तब्ध भएको थियो ।

ओलावालेले चार मिनेटपछि काउन्टर अट्याकमा बनेको मुभमा राम्रो व्यक्तिगत ड्रिब्लिङ्ग स्किल देखाउदै राम्रो प्लेसमेन्टेका साथ हेर्न लायक गोल गरेका थिए ।

३४ औं मिनेटमा ओलावालेलाई रुपेश केसीले लोभलाग्दो असिस्ट दिदै बिकेशसँग वान–भर्सेस–वानका लागि सेट गरेपनि बिकेशले फेरि पनि स्लाइड हान्दै जिउले प्रहार बचाएका थिए ।

अन्तिम मिनेटमा भएको पर्फेक्ट टिम मुभलाई ओलावाले नै फिनिसिङ्ग दिएका थिए । अशोक खवासको थ्रु पासमा दर्शनले गोललाईन अगाडी निकालेको क्रसलाई ओलावलेले सहज ट्याप इन गर्दै गोल गरेका थिए ।

काठमाडौंले केही राम्रो मुभ बनाए पनि गोल गर्ने मौका समेत सृजना गर्न सकेको छैन । स्टेफन समिरले अतिरिक्त समयमा गरेको गोल अफसाइड दिइएको थियो ।

काठमाडौंले पहिलो खेलमा ललितपुरलाई हराएको थियो भने धनगढी बिराटनगर सिटी एफसीसँग ३–० को पराकिलो अन्तरको हार व्यहोरेको थियो ।

Click to comment

Trending