Headline

नेपाल सुपर लिगः अन्तिम समयमा रोक्कियो ललितपुर, बिशाल सुनारको उत्कृष्ट प्रदर्शन

Published

on

गोलकिपर बिशाल सुनारले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल सुपर लिगको आफ्नो पहिलो खेलमा अन्तिम समयमा पुनरागमन गर्दै एफसी चितवनले ललितपुर सिटी एफसीसँग १–१ गोलको बराबरी खेलेको छ ।

दशरथ रँगशालामा फ्लड लाइटको मुनि बिशालले अञ्जन बिष्टको पेनाल्टी बचाउनुका साथै दर्जनौ सेभ गरेपछि पहिलो खेलमा हार व्यहोरेको ललितपुरलाई चितवनले स्पष्ट ३ अंक लिन दिएन । दोश्रो हाफको शुरुवातमै कमल श्रेष्ठको फ्लुक गोलबाट अग्रता लिएको चितवनबाट अमित तामाङले ९२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै २ अंक खोसेका थिए ।

ललितपुरले पुर्ण रुपमा आफ्नो नियन्त्रणमा राखेको खेलको १० औं मिनेटमा बिमल रानाले पोस्ट नजिकैबाट गरेको प्रहार डिफेन्डरलाई लागेर डिफ्लेक्ट भएको थियो । त्यही आक्रमणपछि प्राप्त कर्नरमा पल्साङ लामाले नजिकबाट प्रहार गरेको लो हेडर पोस्ट छेउबाट बाहिरिएको थियो ।

गोरान जेर्कोभिचले २० औं मिनेटमा निरज बस्नेतलाई लडाएपछि ललितपुरले पेनाल्टी पाएको थियो । अञ्जनको प्रहारलाई चितवनका गोलकिपर बिशाल सुनारले उत्कृष्ट ढँगले दायाँतर्फ डाइभ हान्दै बचाए भने रिबाउण्डमा बिमल रानाले गरेको प्रहारलाई पनि बचाइ दिएका थिए ।

२७ औं मिनेटमा नुर्लान जाहिदलाई सिमान्त थापाले लडाएपनि रेफ्रि प्रकाश श्रेष्ठले पेनाल्टी नदिदा चितवन बाल–बाल बचेको थियो । ३५ औं मिनेटमा चितवनको पहिलो प्रमुख अवसरमा गोरान जेर्कोभिचले दिएको पासमा भरत खवासको प्रहार पोस्टमाथिबाट थोरे बाहिरिएको थियो ।

दोश्रो हाफको शुरुवातमै ललितपुरले खेलमा अग्रता लियो । कमलले दायाँ तर्फबाट झण्डै २५ यार्डबाट निकालेको लामो क्रसले उचाई लिएर पोस्टको दिशा लिएको थियो । ५४ औं मिनेटमा बिशालले चितवका लागि फेरि उत्कृष्ट बचाउन गरेका थिए ।

नविन लामाले निकालेको पासमा ६ यार्डबाट बिमलले गरेको प्रहारलाई बिशालले रोके । त्यसपछिको रिबाउण्डमा बिमलले गरेको अर्को प्रहार पनि बिशालले समातेका थिए ।

६१ औं मिनेटमा जेर्कोभिचले निकालेको उत्कृष्ट पासमा भरतले ललितपुर गोलकिपर अर्पण कार्कीलाई मात्रै बिट गर्नुपर्ने थियो तर चितवनका मार्कीले गरेको प्रहार पोस्टमाथि बाट जान पुग्यो । ६५ औं मिनेटमा नुर्लानले गरेको सशक्त प्रहार बारमा लागेर फर्किएको थियो । मिक्चेन तामाङले गरेको अर्को प्रहारलाई बिशालले डाइभ हानेर बचाएका थिए ।

ललितपुरको पोल्टामा पहिलो जित हुने लगभग निश्चित हुँदा अमित तामाङले डि–एरिया बाहिरबाट गरेको प्रहार बिनोद गुरुङको हातमा लाग्दा चितवनले पेनाल्टी पाएको थियो । अमितले नै पेनाल्टी सहज गोल गर्दै चितवनको उद्दार गरेका थिए ।

Click to comment

Trending