Headline

नेपाल सुपर लिगः पहिलो जितको खोजीमा ललितपुर सिटी एफसी

Published

on

आफ्नो पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित भएपछि ललितपुर सिटी एफसी नेपाल सुपर लिग अन्तर्गत सोमबार एफसी चितवनबिरुद्ध प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ ।

अञ्जन बिष्ट मार्की रहेको ललितपुरले पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० को साँघुरो हार व्यहोरेको थियो । खेलमा केही गोल गर्ने मौकामा चुकेको ललितपुरको टोली राम्रो देखिए पनि संगठित भने देखिएको छैन ।

नेपाललाई थ्रि नेसन्स कप जिताएका घरेल प्रशिक्षाक बालगोपालबिरुद्ध ललितपुर राम्रो योजनामा देखिएको थिएन । पहिलो पटक भएको फ्राञ्चाइज फुटबल प्रतियोगितामा स्पष्ट जित हात पारेका टोलीहरुलाई समेत खेलसँग अभ्यस्त हुन समय लागि रहेको छ । चितवनलाई आफ्नो पहिलो खेलमा पनि त्यही हुन सक्छ ।

अनुभवी भारतीय प्रशिक्षक यान ल ले सम्हालेको बिराटनगर सिटी एफसी अपवादको रुपमा देखिएको छ । बिराटनगरले आइतबार निकै नै संगठित फुटबलको नमुना प्रस्तुत गर्दै धनगढी एफसीलाई ३–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

मेघराज केसी घरेलु फुटबलमा त्यसरी नै संगठित फुटबल खेलाउन सक्ने प्रशिक्षकको रुपमा रहेका छन् । भरत खवास मार्की रहेको चितवन सोमबार ललितपुर बिरुद्ध मैदानमा उत्रदा केसीकै योजना अन्तर्गत खेल्नेछ ।

चितवनले भरतसँगै त्रिभुवन आर्मी फुटबल क्लबका चार खेलाडीलाई समावेश गरेको छ । आर्मीका युवा डिफेण्डर बिकास खवास चितवनका लागि सबैभन्दा ठूलो नाम हुन् भने मिडफिल्डमा टेक बहादुर बुढाथोकी अर्का अनुभवी आर्मी खेलाडी हुन् ।

फ्रेञ्च गोरान जेर्कोभिचसँै एल सैयद साबान र अहमद गबाला चितवनका तीन बिदेशी खेलाडीहरु हुन् तर सोमबार साँझ सबैको आखा नेपालमा पहिलो पटक प्रतिस्पर्धात्मक फुटबल खेल्न गइरहेका सुयान्सु भुषालमाथि हुनेछ ।

सुयान्सुलाई राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुतईरीले कतारबाट सिधै राष्ट्रिय टोलीको ३२ जनाको क्याम्पमा बोलाएका छन् । प्रशिक्षक केसीले पनि उनको सराहना गरेका छन् तर उनी शुरुवाती ११ मा पर्ने नपर्ने बारे खुलेर बोलेका छैनन् । “उनको फुटबल सेन्स निकै राम्रो छ । नेपालको लागि उनी पछि गएर राम्रो खेलाडी बन्न सक्छन्,” केसीले प्रतियोगिता शुरु हुनु अघि भनेका थिए ।

ललितपुरका लागि क्रोएसियन भिलिम पोसिन्कोभिच, अजरबैजानका अनुभवी नुर्लान जाहीद र नेपाली फुटबलको अनुभव बटुलेका नाइजेरियन पिटर सेगुन बिदेशी खेलाडीको रुपमा रहेका छन् । पहिलो खेलमा प्रभाव जमाउन नसकेपछि उनीहरु नै चितवनको लागि प्रमुख हतियारको रुपमा रहने छन् । पिटर पहिलो खेलमा थिएनन् ।

Click to comment

Trending