Headline

एट्लेटिको स्तब्ध हुँदा ला लिगा उपाधि दौड अझ रोचक

Published

on

शिर्ष स्थानको एट्लेटिको म्याड्रिड एथ्लेटिक बिल्बाओसँग २–१ ले स्तब्ध हुँदा स्पेनिस ला लिगा उपाधिको होडबाजी अझै तिब्र बनेको छ । एट्लेटिको हारेपछि शिर्ष तीन स्थानमा रहेका टिमबीच जम्मा दुई अंकको दुरी बनेको छ ।

यसको प्रत्यक्ष फाइदा बार्सिलोनालाई हुन सक्छ । समान ३३ खेल खेलिसक्दा एट्लेटिकोको ७३ र रियल म्याड्रिडको ७१ अंक छ । एक खेल कम खेलेको बार्सिलोनाको पनि ७१ अंक छ । बिहिवार ग्रानाडालाई हराउने हो भने बार्सिलोनाले एक अंकको अग्रता लिन सक्छ ।

यो सिजन एट्लेटिको र बार्सिलोनाले दोश्रो लेग खेल्न बाकी नै रहेको स्थितिमा मे ८ मा हुने उक्त खेलले नै उपाधि जित्ने टोलीको निर्धारण गर्न सक्छ । लयमा रहेको बार्सिलोनालाई निकै राम्रो अवसर छ ।

बार्साले आइतबार नै भएको खेलमा एन्टोइन ग्रिजमनको दुई गोलको मद्दतमा भिलारियाललाई २–१ ले हराएको थियो । एट्लेटिकोको बराबरीले चौथो स्थानमा रहेको सेभियाका लागि पनि उपाधिको ढोका खुल्ला छ । सेभियाको ३३ खेलबाट ७० अंक छ ।

कोरोनाका कारण धकेलिएको २०२० र २०२१ को दुवै कोपा डेल रे फाइनलमा पराजित बिल्बाओबिरुद्ध पहिलो हाफमा खराब प्रदर्शन गरेको मुल्य एट्लेटिकोले चुकाएको हो । बेरेन्गुएर रेमिरोले आठौं मिनेटमै एण्डर कापाको हेडरमा गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए ।

यान ओब्लाकले एजियर भिलालिब्रेको प्रहार नबचाएको र ओईहान सान्सेटको दुई प्रयास खेर नभएको भए पहिलो हाफमै एट्लेटिको निकै पछि पर्ने थियो । स्टेफ सेभिचले ७७ औं मिनेटमा गोल गर्दा एट्लेटिको बराबरीका लागि पनि सन्तुष्ट देखिन्थ्यो तर इनिगो मार्टिनेजले ८६ औं मिनेटमा निर्णायक गोल गर्दै शिर्ष स्थानको टोलीलाई स्तब्ध पारेका थिए ।

बिल्बाओ ४१ अंकका साथ १० औं स्थनमा रहेको छ । सेभियाले आइतबार नै ग्रानडालाई २–१ ले पराजित गरेको थियो ।

Click to comment

Trending