Headline

ग्रिजमनको दुई गोलपछि बार्सिलोना फेरि उपाधि दौडमा

Published

on

एन्टोइन ग्रिजमनले दुई गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा पहिलो स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँगको दुरी २ अंकमा छोट्याएको छ ।

अवे खेलमा सातौं स्थानमा रहेको भिलारियालसँग प्राप्त महत्वपूर्ण जितले बार्सिलोनाले आफूलाई उपाधिको दौडमा कायमै राखेको छ । यसका लागि भने रियल म्याड्रिडले शनिबार रियल बेटिससँग व्यहोरेको गोलरहित बराबरीले पनि सघाएको हो ।

एट्लेटिको ७३ अंक सहित शिर्ष स्थानमा छ भने रियल म्याड्रिड र बार्सिलोनाको समान ७१ अंक छ । रियलले एक खेल बढी खेलेको छ । यो सिजन एट्लेटिको र बार्सिलोनाबीच बाकी रहेको दोश्रो लेगको खेलले नै उपाधि बिजेताको छिनो फानो गर्न सक्छ ।

९ मिनेटको अन्तरमा भएका तीन गोलले नै खेलको अन्तिम परिणाम निर्धारण गरेको थियो । भिलारियालमा घरेलु टोलीले २६ औं मिनेटमा स्याम्युएल चुकुवेजेको गोलबाट अघि बढेको थियो ।

तर ग्रिजमनले २८ औं मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल गरे । ७ मिनेटपछि नै उनले दोश्रो गोल गरे । त्यसपछि भने खेलमा कुनै गोल हुन सकेन । ६५ औं मिनेटमा म्यानुएल ट्रिगुरोस रेड कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोनालाई थप सहज भएको थियो ।

ग्रिजमनले यो सिजन बार्साका लागि ११ गोल गरिसकेका छन् । बार्सिलोनाका अर्जेन्टाइन सुपरस्टार लियोनल मेस्सी २५ गोलका साथ ला लिगाको शिर्ष गोलकर्ताको रुपमा रहेका छन् । रियल म्याड्रिडका करिम बेन्जेमा २१ गोलका साथ दोश्रो र भिलारियालका जेरार्ड मोरेनो २० गोलसहित तेश्रो स्थानमा छन् ।

Click to comment

Trending