Headline

नेपाल सुपर लिगः बुटवल लुम्बिनीद्वारा पोखरा थण्डर्स २–० ले पराजित

Published

on

अफ्रिकी खेलाडी अर्माण्ड बेडुम र अजित भण्डारीले आत्मघाती गोल गरेपछि बटुवल लुम्बिनीले नेपाल सुपर लिगको आफ्नो पहिलो खेलमा पोखरा थण्डर्सलाई २–० ले हराएको छ ।

दशरथ रँगशालामा भएको साँझको खेलमा बुटवलले दवाब कायम राख्दै पहिलो हाफ अघि र ७६ औं मिनेटमा गोल गरेको थियो । पोखराले केही मौकाहरु बनाएपनि सदुपयोग गर्न सकेन ।

आशिष लामाले पेनाल्टी एरिया भित्र निकालेको उत्कृष्ट बललाई कनेक्ट समेत गर्न नसक्दा बुटवल शुरुवातमै गोल गर्न चुकेको थियो । २३ औं मिनेटमा नवयुग श्रेष्ठले डि बक्सभित्रबाट गरेको प्रहार बाहिरिएको थियो ।

२८ औं मिनेटमा रवि पासवानलाई रविन श्रेष्ठले लडाएपछि डि बक्स नजिकै दाँया तर्फ प्राप्त प्रि–किकमा राजेश परियारको घुमाउरो प्रहार थोरैले मात्र बाहिरिएको थियो । अर्माण्डले मान बहादुर परियारले प्रहार गरेको फ्रि–किकमा फ्लिक हेडर डिफेण्डर अजित भण्डारीको टाउकोमा डिफ्लेक्ट भएर गोल भएको थियो । पहिलो हाफमै बुटवलले गोल गर्ने अन्य केही मौका पनि गुमाएको थियो ।

दोश्रो हाफमा पोखराले केही समय दवाब बनाउदै गर्दा अर्माण्डले निकालेको वान टच पासले डिफेन्सलाई बिट गरेपनि आशिष लामा बल सम्म पुग्न असफल रहे ।

दुई मिनेटपछि नै लक्ष्मण रुचालले राम्रो ड्रिबल गर्दै डि एरिया भित्रबाट गरेको सशक्त प्रहारलाई पोखराका गोलकिपर दिप कार्कीले उत्कृष्ट बचाउ गरेका थिए । ६५ औं मिनेटमा सुमन लामाले बाहिरबाट गरेको सशक्त प्रहार कार्कीको ग्लोभमा लाग्दै पोस्टमा ठोक्किएर फर्किएको थियो ।

७६ औं मिनेटमा भएको दोश्रो गोलमा पनि अजित नै संलग्न रहे । अमिर श्रेष्ठले बायाँबाट निकालेको क्रसलाई अजिले आफ्नै पोस्टको दिशा दिन पुग्दा पोखरा स्तब्ध भएको थियो । पोखराले त्यसपछि खेलमा फर्कने प्रयास गरेपनि बुटवलको बलियो डिफेन्सले त्यसलाई असफल पारेको थियो ।

अन्तिम समयतिर बुटवलको नै गोल गर्ने मौका खेर गएको थियो । विलियम ओपोकुको कर्नर पोस्टको दिश लिएपनि दिपको हातमा लाग्दै पोस्टमा ठोक्किन पुगेको थियो ।

Click to comment

Trending