Headline

ट्राई सिरिज फाइनलः नेपालको लागि पुस्ता हस्तान्तरणको परिक्षा

Published

on

२०१० को आईसिसि वल्र्ड क्रिकेट लिग डिभिजन फाइभको फाइनलमा अमेरिकालाई पाँच विकेटले पराजित गर्दा नेपाली सिनियर क्रिकेट टोलीले घरेलु भुमिमा पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको थियो । त्यो नेपालले घरमा जितेको एक मात्र उपाधि हो ।

पारस खड्का कप्तान नियुक्त भएपछि नेपालले जितेको पहिलो उपाधि नै त्यही हो । त्यसपछि नेपालले घरेलु भुमिमा एसिसि ट्वान्टी ट्वान्टी कपको दुई संस्करण आयोजना गरेको थियो जसमा २०११ मा चौथो र २०१३ मा अफगानिस्तानसँग पराजित हुदै दोश्रो हुन पुग्यो ।

त्यसपछि नेपालले २०१७ मा नामिबिया र केन्याबिरुद्ध वल्र्ड क्रिकेट लिग च्याम्पियन्सिप र २०२० मा अमेरिका र ओमान संलग्न आईसिसि क्रिकेट बिश्वकप लिग टु को ट्राई सिरिज आयोजना गरेको हो । लिग भएका कारण त्रिवि मैदानमा नेपालले उपधि जित्ने कुरै थिएन ।

२०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले बिदेशी भुमिमा भने वल्र्ड क्रिकेट लिग डिभिजन थ्री को उपाधि दुई पटक र डिभिजन फोरको उपाधि एक पटक जितिसकेको छ ।

तर यहाँ कुरा २०१० मा घरेलु भुमिमा जितिएको डिभिजन फाइभको फाइनल हो जुन नेपाली क्रिकेटको पुस्ता हस्तान्तरणको प्रकृयालाई भुत देखि वर्तमानसम्म व्याख्या गर्ने एजेन्टको रुपमा रहेको छ ।

डिभिजन फाइभ देखि २०२१ सम्म आइपुग्दा त्यो टोलीबाट जम्मा दुई सदस्य शनिबार नेपाल र नेदरल्याण्ड्सबीचको फाइनलमा हुने छन् – कप्तान ज्ञानेन्द्र मल्ल र उक्त प्रतियोगितामा एक खेल पनि खेल्न नपाएका बिनोद भण्डारी ।

नेपाली टोलीको नेतृत्वमा डेब्यु गरेका पारस अहिले पुर्व कप्तान भइसकेका छन् भने शक्ति गौचन, बिनोद दास र दिपेन्द्र चौधरीको खेलाडी जीवन समाप्त भइसकेको छ । सञ्जम रेग्मी र महबुब आलम घरेलु क्रिकेटमै आफ्नो अन्तिम दिन बिताउदै छन् भने भने महेश क्षेत्री, नरेश बुढाएर र अमृत भट्टराई बिदेशमा छन् ।

फाइनलमा ७ विकेट लिने राहुल कुमार बिश्वकर्मा घरेलु क्रिकेटबाट पनि विलिन भइसके । बसन्त रेग्मी र शरद भेषावकर राष्ट्रिय टोलीमै अटाउनका लागि संघर्ष गर्दै आइरहेका छन् । अनिल मण्डल शायद आफै पनि राष्ट्रिय टोलीमा पुनरागमन सोचिरहेका छैनन् । पारस चोटका कारण टोलीमा छैनन् ।

नेपाली क्रिकेट पुस्ता हस्तान्तरण प्रकृयाको अन्तिम चरणमा पुग्दा ज्ञानेन्द्र, पारस र भण्डारी नै राष्ट्रिय टोलीमा अन्तिम बर्षहरुको यात्रा गर्दै छन् ।

पारस, शरद, बसन्त र ज्ञानेन्द्र कनिष्क चौगाइको नेतृत्वमा २००६ को अण्डर–१९ बिश्वकप खेलेका नेपाली टोलीको सदस्य हुन् । पारसकै नेतृत्वमा ज्ञानेन्द्र, महेश, अनिल, अमृत र राहुल २००८ को बिश्वकपको प्लेट फाइनलमा वेष्ट इण्डिजबिरुद्ध उत्रिएका थिए ।

भण्डारीले अण्डर–१९ टिमबाट नखेलेरै २००९ को एसिसि ट्वान्टी ट्वान्टी कपदेखि राष्ट्रिय टोलीमा स्थान बनाउन थालेका हुन् । २००९ मै ज्ञानेन्द्रले हाकेको अण्डर १९ टोलीबाट वर्तमान राष्ट्रिय टोलीमा खेल्ने उनी आफै एक्ला खेलाडी हुन् भने २०१४ को अण्डर १९ ब्याचबाट आएका आरिफ शेख, भारतबाट नेपालमा भविष्य खोज्दै भित्रिएका सोमपाल कामी र करण केसी बाहेक बाकी सबैको औपचारिक क्रिकेट २०१६ पछि शुरु भएको छ ।

भण्डारी जस्तै अण्डर १९ क्रिकेट नखेलेका अविनाश बोहोराको राष्ट्रिय टिमसँगको यात्रा जम्मा दुई बर्षको भएको छ । उनी २०१६ को एभरेष्ट प्रिमियर लिगदेखि घरेलु क्रिकेटमा चिनिन थालेका हुन् ।

२०१० को डिभिजन फाइभ देखि शनिबारको फाइनल खेल्ने टिमसम्म आइपुग्दा सन्दिप लामिछानेले ग्लोबल फ्राञ्चाइजमा आफ्नो छाप छोड्दै १ सयौं ट्वान्टी ट्वान्टी खेलिसकेका छन् । कुशल मल्ल, सोमपाल र करण अबु धाबी टि टेन लिगमा सहभागि भएर आएका छन् । वर्तमान टोलीकै सबैभन्दा कान्छा सदस्य कुशलको नाममा बिश्वकै सबैभन्दा कान्छा एकदिवसीय अद्र्धशतक बनाउने खेलाडीको किर्तिमान छ ।

कुशल भुर्तेल यसै प्रतियोगितामार्फत ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्युटेन्टको रुपमा लगातार तीन अद्र्धशतक प्रहार गर्ने बिश्व किर्तिमान स्थापित गर्न सफल भएका छन् । २०१६ कै एभरेष्ट प्रिमियर लिगको फाइनलमा शतक प्रहार गर्दै घरेलु क्रिकेटमा आफ्नो आगमन भएको सन्देश दिएका आसिफ शेखले कुशलसँगै नेपालको किर्तिमानी ट्वान्टी ट्वान्टी ओपनिङ्ग साझेदारी गरिसकेका छन् ।

चार बर्ष अगाडी टिममा स्थान बनाए यता दिपेन्द्र सिँह ऐरि मध्यक्रमको खम्बा बनिसक्दा सुशन भारी, सन्दिप जोरा, कमल सिँह ऐरि र शाहब आलम अर्को मौकाको प्रतिक्षामा रहने छन् ।

एकदिवसीय मान्यता पाएपछि नेपालले २०१९ जनवरी–फेब्रुवरीमा युएईबिरुद्धको एकदिवसीय र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला जित्नुका साथै त्यही बर्ष जुलाईमा मलेसियालाई उसकै घरमा भएको दुई म्याचको ट्वान्टी ट्वान्टी श्रृंखलामा क्लिन स्विप गरेको थियो । नेपालको पछिल्लो अन्तर्राष्ट्रिय उपाधि त्यही थियो ।

२०१२ को अण्डर–१९ बिश्वकपमा सहभागी पृथु बास्कोटा नेतृत्वको टोलीबाट अझै पनि खेलाडीहरुले पुनरागमन गर्न सक्छन् जसरी भुवन कार्कीले सम्हालेको २०१४ को एसिसि ट्वान्टी ट्वान्टी एसिया कपको ब्याचले ।

तर नेपालले त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलाको उपाधि यस्तो टोलीबाट अपेक्षा गरेको छ जसलाई पूर्ण रुपले सबैभन्दा युवा पुस्ताले धानेको छ । शनिबार नेदरल्याण्ड्सबिरुद्ध भिड्दै गर्दा नेपालको लागि यही पुस्ता हस्तान्तरण प्रकृयाको परिक्षा हुनेछ ।

Click to comment

Trending